२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले एक सातामा १२ जना फरार प्रतिवादीहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख २३, २०८३

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको छ। पक्राउ परेका व्यक्तिहरूले अदालतको आदेश पालना नगरी फरार रहँदा कानुनी प्रक्रिया प्रभावित हुँदै आएको थियो।

उक्त अवधिमा पक्राउ परेका १२ जनामध्येबाट कुल ५ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको र उनीहरूलाई ४ वर्ष ९ महिना १० दिन कैद सजाय तोकिएको विवरण सार्वजनिक गरिएको छ। पक्राउसँगै अब सजाय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको विवरण संकलन, निगरानी तथा सूचनाका आधारमा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो। यस अभियानले कानुनी शासन सुदृढ बनाउन र अदालतका निर्णय कार्यान्वयनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भइसकेपछि फरार रहने प्रवृत्ति नियन्त्रण गर्न आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, कानुनको पालना गर्न र अदालतका निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन सबै सरोकारवालालाई आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]