दाङ, । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैली र साइकल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ दाङ साइकल सिटीको आयोजनामा शनिबार ‘घोराही कोरा साइक्लिङ च्यालेन्ज–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
घोराही उपमहानगरपालिका–१५ स्थित ललित इन्टरप्राइजेज होन्डा शोरुमबाट सुरु भएको साइक्लिङ च्यालेन्जमा ५० भन्दा बढी साइकलयात्रीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले शहीद गेट, तुलसीपुर चोक, न्यू रोड, पुरानो बैंक रोड, गणेश मन्दिर, ट्राफिक चोक, अम्बिकेश्वरी मन्दिर, डबरी, चौघेरा मन्दिर, बर्गदी, पनौरा हुँदै घोराही–५ स्थित धारापानी मन्दिरसम्म पुगेर पुनः होटल माला इनमा यात्रा सम्पन्न गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले यस्ता अभियानले पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले साइकलमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज र युवाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै दाङ साइकल सिटीले थालेको अभियान अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठले संस्थाले विगतदेखि नै साइकल संस्कृतिको विकास, वातावरण संरक्षण तथा धार्मिक र पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले घोराही कोरा साइक्लिङ च्यालेन्जले जिल्लाका महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदालाई चिनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै दाङ साइकल सिटीका उपाध्यक्ष बिमल श्रेष्ठले कोरा अभियान केवल साइकल यात्रा मात्र नभई स्थानीय सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा वातावरणमैत्री यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
साइक्लिङ यात्राका क्रममा सहभागीहरूले विभिन्न धार्मिक स्थल, सांस्कृतिक सम्पदा तथा प्राकृतिक क्षेत्रको अवलोकन गरेका थिए। यात्राभर ट्राफिक व्यवस्थापन, सुरक्षा तथा समन्वयमा सम्बन्धित निकायको सहयोग रहेको आयोजकले जनाएको छ।
यात्रा सम्पन्न भएपछि आयोजित समापन समारोहमा दाङ साइकल सिटीका अध्यक्ष ललित श्रेष्ठ तथा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले सहभागी सबै साइकलयात्रीलाई मेडल तथा सहभागिता प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सहभागीहरूले कार्यक्रमले स्वास्थ्य, पर्यटन र वातावरण संरक्षणलाई एकैसाथ जोड्ने प्रभावकारी अभियानका रूपमा आफूहरूलाई प्रेरित गरेको प्रतिक्रिया दिएका थिए।
दाङ साइकल सिटीले आगामी वर्षहरूमा अझ व्यापक सहभागितासहित घोराही कोरा साइक्लिङ च्यालेन्जलाई निरन्तर आयोजना गर्दै जिल्लाको प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्य लिएको जनाएको छ।