काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्।
श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन प्रकारले अमानवीय तवरले नागरिकमाथि गोली प्रहार गरेर हत्या गरिएको छ, यसरी नै यो देशमा युवाहरूलाई अन्धाधुन्ध गोली प्रहार गर्नलाई सुरक्षा निकाय बनाएको हो? भीड नियन्त्रण गर्ने कौशलता र उपकरणको सुझबुझ उपयोग बिना मान्छे मारेर कहिल्यै पनि शान्ति हुन सक्दैन।’
हमालले नागरिकमाथि घातक बल प्रयोग भएको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन्। उनले भीड नियन्त्रणका लागि उपलब्ध विधि, संयम र उपकरणको प्रभावकारी प्रयोग नगरी गोली चलाइनु गम्भीर विषय भएको बताएका छन्। साथै, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।
नेता हमालले थप भनेका छन्, ‘सरकारले नागरिकको हत्या गरेर देशलाई साम्प्रदायिक द्वन्द्वतर्फ धकेलेको छ। त्यसको आगो देशैभरि सल्क्यो भने जेनजी आन्दोलनभन्दा भयानक हुनेछ। हेक्का रहोस्… भीड नियन्त्रणको नाममा तीर्थयात्रीहरूलाई ताकिताकी गोली प्रहार गर्ने कुरा क्रूर अमानवीय हर्कत हो। सबै पक्ष समयमै बनौँ, साम्प्रदायिक दंगा नहोस् तर हत्यारा सरकारविरुद्ध सशक्त प्रतिवाद गरौं।’
आइतबार राति दुई समुदायबिच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरे पनि उग्र ढंगले प्रदर्शन जारी राखेपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणबाहिर जान नदिन सेना परिचालन गरिएको छ।