काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्याङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो।
तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्ने निर्देशन दिइएको छ। त्यस्तै, परिस्थितिलाई काबू बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी उनीहरूलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू शिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईशवर कार्कीलाई कोशी प्रदेश र सुनसरीमा खटाएको हो।
त्यस्तै, प्रहरी नायव महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरी पठाएको छ।
यसैगरी, नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई तराई-मधेश पठाएको छ। एसएसपीहरू गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ।
साउन ९ गते सुनसरीको कप्तानगन्ज बजारमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपमा परिणत भएको थियो।
स्थित नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि सुनसरीसँगै मधेशका आसपासका जिल्लामा तनाव उत्पन्न भएको थियो।