काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापन गर्दा देशका ठुला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।
यद्यपि, साना नदीहरूमा भने बाढीको खतरा औँल्याइएको छ। आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को उच्च जोखिम रहेको बताएको छ।
त्यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव बढ्नेछ। यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ।
भोलि सातै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ।