२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेवार सेवा समिति घोराहीद्वारा एक महिने नेवारी बाजा तथा नृत्य प्रशिक्षण सुरु,

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २४, २०८३

दाङ । घोराही नेवार सेवा समिति घोराहीले नेवार समुदायको मौलिक कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। शनिबार आयोजित एक समारोहबीच प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो।
नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ संगीतकर्मी डा. गोविन्द आचार्य प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. गोविन्द आचार्यले कला र संस्कृति कुनै पनि समुदायको पहिचान मात्र नभई समाजको ऐतिहासिक सम्पत्ति भएको बताउनुभयो। उहाँले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति हराउँदै जान सक्ने भएकाले नयाँ पुस्तालाई आफ्ना बाजा, नृत्य, गीत तथा सांस्कृतिक परम्परासँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“संस्कृति सिकाएर मात्र संरक्षण हुँदैन, त्यसलाई व्यवहार र अभ्यासमा उतार्नुपर्छ,” उहाँले भन्नुभयो, “बालबालिकालाई सानैदेखि आफ्नो मौलिक कला र संस्कृतिसँग जोड्न सके भविष्यमा हाम्रो सांस्कृतिक पहिचान अझ बलियो बन्न सक्छ।” उहाँले नेवारी बाजा तथा नृत्य प्रशिक्षणलाई निरन्तरता दिँदै यसको दायरा अझ विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।
विशिष्ट अतिथि सबिन प्रियासनले संस्कृति संरक्षण र सामाजिक एकताका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नेवार समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै घोराहीको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।
प्रियासनले बालबालिकालाई शिक्षा र सीपसँगै संस्कार, संस्कृति तथा सिर्जनशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो। “हामीले नयाँ पुस्तालाई आधुनिक शिक्षासँगै आफ्नो मौलिक पहिचान पनि सिकाउनुपर्छ। बाजा र नृत्य केवल मनोरञ्जनका माध्यम होइनन्, यी हाम्रो इतिहास, पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानका आधार हुन्,” उहाँले भन्नुभयो। उहाँले यस्ता प्रशिक्षणबाट बालबालिकामा आत्मविश्वास, अनुशासन र सिर्जनशीलता विकास हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेवा देब दबुका अध्यक्ष दिनेश श्रेष्ठ, नेवा मिसा दबुकी अध्यक्ष रेनु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना दिनुभयो।
प्रशिक्षण कार्यक्रमका संयोजक तथा समितिका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत तथा विषय प्रवेश गराउनुभएको थियो। उहाँले नेवारी बाजा तथा नृत्यप्रति नयाँ पुस्ताको रुचि बढाउन र मौलिक सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
उद्घाटन समारोहमा नेवार समुदायका बालबालिकाहरूले नेवारी लगायत विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
एक महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा करिब ५० जना बालबालिका तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको समितिले जनाएको छ। प्रशिक्षणमा नेवारी मौलिक बाजा तथा विभिन्न सांस्कृतिक नृत्यका आधारभूत तथा व्यावहारिक पक्ष सिकाइनेछ।
कार्यक्रमको सहजीकरण समितिका सचिव विवेक श्रेष्ठले गर्नुभएको थियो। नेवार सेवा समिति घोराहीले प्रशिक्षणबाट नयाँ पुस्तामा आफ्नो संस्कृति, कला र परम्पराप्रति रुचि तथा अपनत्व बढ्ने अपेक्षा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेवार सेवा समिति घोराहीले नेवार समुदायको मौलिक कला, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले एक महिने नेवारी बाजा एवं नृत्य प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। शनिबार आयोजित एक समारोहबीच प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो। नेवार सेवा समिति घोराहीका अध्यक्ष बिमलमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ संगीतकर्मी डा. गोविन्द […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १७, दाङ शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, जीवनलाई सक्षम बनाउने, सीप विकास गर्ने, उत्पादनसँग जोडिने र समाजलाई परिवर्तन गर्ने महत्वपूर्ण आधार हो। आजको बदलिँदो समयमा विद्यालय र कलेजबाट प्राप्त ज्ञानलाई व्यवहार, रोजगारी, उद्यमशीलता र उत्पादनसँग जोड्न सकिएन भने शिक्षित जनशक्ति भएर पनि बेरोजगारी र परनिर्भरता बढिरहने अवस्था […]

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

error: Content is protected !!