प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ?
बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ।
प्रश्न : घोराहीमा हाप्किडो खेलको अवस्था कस्तो पाउनुभएको छ?
बस्नेत : घोराहीमा हाप्किडोप्रति बालबालिका तथा युवाको आकर्षण बढिरहेको छ। तर यसको गतिविधिलाई अझ व्यवस्थित र व्यापक बनाउन आवश्यक छ। पर्याप्त प्रशिक्षणको अवसर, प्रतियोगितामा सहभागिता र खेलाडीको क्षमता विकासमा हामीले ध्यान दिनुपर्छ। प्रतिभावान खेलाडीलाई निरन्तर प्रशिक्षण र उचित अवसर दिन सके राम्रो परिणाम निकाल्न सकिन्छ।
प्रश्न : तपाईंको नेतृत्वमा संघका मुख्य प्राथमिकता के–के हुनेछन्?
बस्नेत : पहिलो प्राथमिकता हाप्किडोलाई घोराहीका सबै वडासम्म विस्तार गर्नु हो। विद्यालय तथा समुदायमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने, नियमित प्रतियोगिता आयोजना गर्ने र प्रतिभावान खेलाडीलाई जिल्ला, प्रदेश तथा राष्ट्रिय प्रतियोगितासम्म पुर्याउने हाम्रो लक्ष्य छ। साथै प्रशिक्षकको क्षमता अभिवृद्धिमा पनि काम गर्नेछौँ।
प्रश्न : विद्यालयमा हाप्किडो प्रशिक्षण विस्तार गर्ने योजना छ?
बस्नेत : अवश्य छ। विद्यालय खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधार हुन्। बालबालिकालाई सानैदेखि खेलकुदसँग जोड्न सकियो भने उनीहरूमा अनुशासन, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती र सकारात्मक सोचको विकास हुन्छ। त्यसैले विद्यालयसँग समन्वय गरेर प्रशिक्षण विस्तार गर्ने योजना बनाएका छौँ।
प्रश्न : हाप्किडोलाई तपाईंले खेलभन्दा बाहिर कसरी हेर्नुभएको छ?
बस्नेत : हाप्किडो आत्मरक्षा मात्र होइन, अनुशासन, आत्मविश्वास र शारीरिक तथा मानसिक सन्तुलन विकास गर्ने माध्यम पनि हो। विशेषगरी बालबालिका र युवालाई आत्मनिर्भर, अनुशासित र जिम्मेवार बनाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रश्न : संघलाई प्रभावकारी बनाउन तपाईंलाई कस्तो सहयोग आवश्यक छ?
बस्नेत : संघ एक्लैले मात्र काम गर्न सक्दैन। स्थानीय सरकार, विद्यालय, अभिभावक, प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाको सहयोग आवश्यक हुन्छ। सबैको सहकार्यबाट घोराहीलाई हाप्किडोको राम्रो आधार क्षेत्र बनाउन सकिन्छ।
प्रश्न : अन्त्यमा खेलाडी तथा अभिभावकलाई के भन्न चाहनुहुन्छ?
बस्नेत : खेलाडीलाई निरन्तर मेहनत र अनुशासनका साथ अघि बढ्न आग्रह गर्छु। अभिभावकले आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रोत्साहन गर्नुहोस्। घोराही नगर हाप्किडो संघ सबै खेलाडी र प्रशिक्षकको साझा संस्था हो। हामी सबैलाई समेटेर हाप्किडोलाई घोराहीका सबै वडासम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।