०७ भाद्र २०८३, आइतबार
23-08-2026 , Sun
×

आदेश कुरेर नबस्नू,विपद्मा तत्काल परिचालित हुनू सशस्त्र आईजिपी नारायणदत्त पौडेलकाे निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र ०६, २०८३

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् ।

उनले एक्लो प्रयासबाट मात्रै विपद् पूर्ण रूपमा व्यवस्थापन गर्न नसकिने भएकाले प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको बताए । यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा थप सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

महानिरीक्षक पौडेलले विपद् व्यवस्थापन, राजमार्ग सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रणलगायत आन्तरिक सुरक्षाका विभिन्न घटनामा सशस्त्र प्रहरी कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गरे । कार्यक्षेत्रमा खटिने राष्ट्रसेवक अझ व्यावसायिक, इमानदार, नैतिकवान् र कर्तव्यनिष्ठ हुनुपर्ने तथा परिस्थितिअनुसार तत्काल निर्णय लिन सक्ने क्षमता विकास गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय, धार्मिक तथा साम्प्रदायिक विवादले सुरक्षा चुनौती थपेको उल्लेख गर्दै उनले त्यस्ता घटनामा परिचालन हुने सशस्त्र प्रहरीले मानवअधिकारको पूर्ण पालना गर्दै कानुनी दायराभित्र रही न्यायोचित रूपमा मात्र बल प्रयोग गर्नुपर्ने निर्देशन दिए ।

सुरक्षा परिचालन तथा कारबाहीमा सशस्त्र प्रहरी बल नेपालको कुनै कमजोरी नदेखिने गरी कार्यसम्पादन गर्न पनि उनले निर्देशन दिए ।

व्यक्तिगत आग्रह–पूर्वाग्रहलाई थाँती राख्दै कमान्डर तथा नेतृत्वसँग हातेमालो गरेर सङ्गठन विकासमा एउटै लक्ष्यका साथ अघि बढ्न आग्रह गर्दै महानिरीक्षक पौडेलले भने, ‘म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा वृत्तिविकासका अवसरहरू आफैँ सिर्जना हुँदै जान्छन् ।’

उनले सीमावासीसँगको सुमधुर सम्बन्ध सीमा सुरक्षाको महत्त्वपूर्ण कडी भएको बताउँदै उनीहरूको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा तथा व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गर्दै अन्य कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

विपद्मा परेका आम नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपाललाई भरोसायोग्य सङ्गठनका रूपमा स्थापित गर्दै राष्ट्र र सङ्गठनले लिएको लक्ष्यअनुसार काम गर्नुपर्ने महानिरीक्षक पौडेलले बताए । प्रत्येक कमान्डरले दण्ड र पुरस्कारको नीतिलाई अझ कडाइका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिम, वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा बाहिनीलाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्था र महानुभावलाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]