काठमाडौं । शनिबार नुवाकोटको विदुर नगरपालिका-१०, वेत्रावतीस्थित घरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर काठमाडौँको ल्याइएको छ।
६४ वर्षीया चन्डिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने भनेपछि त्यसबारे छलफल भइरहेको उनका छोरा आशिष श्रेष्ठले बताए। ‘आमाको खुट्टामा चोट रहेछ। त्यसको सामान्य अप्रेसन गर्नुपर्ने भनिएको छ। अहिले त्यसैको लागि डाक्टरसँग छलफलमा छु,’ श्रेष्ठले भने।
आशिषले आमालाई भेटन् भने नपाएको बताए। चन्डिकालाई छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। सैनिक अस्पतालले त्रिवि शिक्षण अस्पताल रिफर गरेको छ।
चन्डिकालाई आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो। वेत्रावतिस्थित घरमा श्रीमान-श्रीमती बस्थे। छोराहरू काठमाडौंमा थिए।
भदौ १० को बाढीले वेत्रावति बजार पूरै बगाएको छ। वेत्रावतीमा करिब दुई सय घर थिए। आठ-दश वटा खण्डहर घरबाहेक केही बाँकी छैन।
बाढीपछि छोराहरू काठमाडौंबाट वेत्रावती पुगेका थिए। वेत्रावती बजार र आफ्नो घरको अवस्था देखेपछि चन्डिकाका छोराहरूले आफ्नो आमाबुवाको माया मारेका थिए।
चन्डिकाको घर रहेको विदुर नगरपालिका-१० का वडाध्यक्ष गणेशकुमार नेपाल परिवारजनले आशै मारेको सुनाए। ‘घटनापछि उहाँको छोरासँग मेरो भेट भएको थियो। बजार र घरको अवस्था देखेर छोराले बुवाआमाको आशा छैन भन्नुभएको थियो,’ वडाध्यक्ष नेपालले नेपालखबरसँग भने, ‘बाढी आएको ११ दिनमा आमाको जीवित अवस्थामा उद्धार भएको छ। उहाँहरूका लागि निकै ठूलो खुशी प्राप्त भएको छ।’
चन्डिकाको परिवारले बाढीमा बगेको ठानेर मृत्यु संस्कारको काम गरिरहेको सुनेको वडाध्यक्ष नेपालले बताए। आशिष श्रेष्ठसँग भदौ १५ गते वडाध्यक्ष नेपालको भेट भएको थियो। त्यसबेला उनले बुवाआमाको उद्धार हुने अवस्था नदेखेको बताएका थिए। त्यसपछि, उनीहरुले मृत्यु संस्कारको काम गरिरहेका थिए।