२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

डाक्टरले बिरामी हेर्नै नमाने पछी एम्बुलेन्समै बिरामीको मृत्यु

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

बुटवलमा सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए।
उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्याए। तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत दिएन। ‘ज्वरो आएका मान्छेको उपचार हामी गर्दैनौ भनेर फर्काए’, मुसलवानले भने।
त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए। प्रमुख जिल्ला अधिकारी (सीडीओ)समक्ष गुनासो गरे। सीडीओले फोन गरी उपचार गर्न निर्देशन दिएपछि डाक्टरहरू अस्पतालबाहिरैै चेकजाँच गर्न तयार भए। तर, उनीहरू बिरामी भएको एम्बुलेन्ससम्म पुग्दा–नपुग्दै निशाको प्राण गइसकेको थियो।
आइतबार राति उनलाई निजी सवारी साधनमा राखेर अस्पताल पुर्याइएको थियो। अस्पतालले भर्ना नलिँदा बुहारीको मृत्यु भएको गुनासो मुसलवानले गरे। निशाका दुई छोरा र दुई छोरी छन्।
वडाध्यक्ष श्यामनारायण उपाध्यायले अस्पतालले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए। भैरहवाबाट पुनः कपिलवस्तु ल्याए पनि अस्पताल परिसरमै चिकित्सकले मृत घोषणा गरेको उनले सुनाए। ‘अस्पतालले उपचार गरेको भए उनको मृत्यु हुँदैनथ्यो’, उनले भने।
निशालाई एक साताअघि पनि ज्वरो आएको थियो। तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन्। मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएका थिए। मुसलवानका अनुसार त्यही औषधिले ज्वरो ठीक भएको थियो। कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे। ‘मृतकलाई कसरी भर्ना गर्ने ? ’, उनले भने। त्यसअघि नै अस्पताल लगेको विषय भने उनले टारेका छन्।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पताल आएर भैरहवा गएको विषयमा आफूले जानकारी नपाएको बताए। ‘पछिल्लो पटक अस्पताल आउँदा डाक्टरले रेस्पोन्स गरेका छन्’, उनले भने, ‘त्यसअघिको विषय भने मलाई जानकारी छैन।’
भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो। खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो।
सरकारले उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भने पनि बिरामी मृत्यु शृंखला निरन्तर छ। निजी अस्पताल, मेडिकल कलेज मात्र होइन, सरकारी अस्पतालले नै उपचारमा आनाकानी गरिरहेका छन्। बुटवलमा नौ दिनअघि बिरामीको उपचार नहुँदा मृत्यु भएको थियो।
नौ दिनसम्म उठेन शव
बुटवलको कोरोना अस्पतालमा नौ दिनअघि मृत्यु भएका बाबुराम थापाको शव अहिलेसम्म उठाइएको छैन। अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै थापाका आफन्तले शव नबुझेका हुन्। उनीहरूले मृत्युको कारण बताउन अस्पताल प्रशासनसँग माग गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल उपमहानगरले बनाएको कोरोना अस्पतालले सो विषयमा जानकारी गराएको छैन।
पाल्पा रिब्दिकोट घर भई रुपन्देहीको सैनामैना बस्दै आएका थापा ज्वरो आएर चैत १३ गते अस्पताल पुगेका थिए। उनको १६ गते निधन भएको थियो। तीन दिनसम्म उनको कोरोना परीक्षण नभएको र उपचारसमेत नगरिएको गुनासो परिवारले गरेको छ। आजको अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!