दाङ,। रोल्पाको दुर्गम गाउँ रुन्टीगढी गाउँपालिका–४ मा जन्मिएर अति संघर्षपूर्ण जीवन पार गर्दै व्यवसायमा स्थापित भएका प्रकाश बि.क. ले नेतृत्व गरेको श्री पि.के. निर्माण सेवा प्रा.लि. उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङले ‘राष्ट्रिय कर दिवस, २०८३’ को अवसरमा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई सम्मान गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक प्रकाश बि.क.ले दुर्गम भेगको कठिन परिस्थितिबाट अघि बढ्दै निर्माण क्षेत्रमा आफ्नो व्यवसायलाई फस्टाउँदै इमानदारीपूर्वक राज्यलाई कर तिर्दै सफलताको उचाइ हासिल गर्नुभएको हो । उहाँको यही लगनशीलता र व्यावसायिक पारदर्शिताका कारण घोराही उपमहानगरपालिका–१५ स्थित पि.के. निर्माण सेवा प्रा.लि.ले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको कार्यक्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरण अनुसार उत्कृष्ट आयकर दाखिला गर्न सफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे र आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत लाल प्रसाद शर्मा पंगेनीले पिके निर्माण सेवाका प्रतिनिधि सुरेश बुढा मगरलाई संयुक्त रूपमा सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मान–पत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्म कुमार भूसालको समेत हस्ताक्षर रहेको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय कर दिवसमा सम्मानित भएसँगै कार्यालयले बि.क.को व्यावसायिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि राज्यको विकास निर्माण र राजस्व संकलनमा अझ थप योगदानको अपेक्षा गरेको छ । दुर्गम गाउँबाट उठेर राज्यलाई सबैभन्दा बढी कर तिर्नेमध्येको एक व्यवसायी बन्नुभएका बि.क.को यो सफलता अन्य युवा व्यवसायीहरूका लागि समेत प्रेरणाको स्रोत बनेको छ ।