२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

सरकारले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका आवागमन प्रवेश निषेध

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।
उक्त निर्णयको बुँदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने उल्लेख छ । बुधबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर तथा महानगरपालिकाका प्रमुखलगायत सुरक्षा अधिकारीबीच बैठक बसी कोभिड–१९ को सङ्क्रमण र रोकथामको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा उपत्यकाको नाका जोडिएका नगरपालिका प्रमुखको समेत सहभागिता थियो ।
बैठकले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकालेको जनाइएको छ । तसर्थ लकडाउनलाई अझै कडाइ गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उपत्यकामा हुने आवागमनमा थप कडाइ गर्ने र अत्यावश्यकबाहेकको आवतजावतलाई पूर्ण रोक्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले जानकारी दिए । अब भने उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा थप कडाइ गरिनेछ ।
उनका अनुसार एउटै गाडीमा कामै नपरेका मानिससमेत आउने तथा लुकीलुकीसमेत प्रवेश गर्ने अवस्था भएकाले त्यसलाई रोक्न उक्त निर्णय गरी परिपत्र जारी गरिएको हो । उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्ने भएकाले आवश्यक सुरक्षा व्यवस्था कडा पार्न प्रहरीलाई समेत निर्देशन दिएको छ । मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन प्राप्त भएकाले सोहीअनुसार प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
नाका प्रवेश रोक्न स्थानीय तहलाई प्रशासनसँग समन्वय गरी आ–आफ्नै क्षेत्रमा रहेको होटल, पार्टी प्यालेस, सामुदायिक भवनमा क्वारेन्टाइन बनाउन भनिएको छ । स्थानीय तहमार्फत आगन्तुकको लगत सङ्कलन र अन्य व्यवस्थापन गर्ने निणय पनि बैठकले गरेको छ । उक्त क्वारेन्टाइन खर्च भने बस्ने व्यक्ति स्वयंले भुक्तानी गर्नुपर्ने छ ।
आवश्यक कामका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व आफ्नै खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सो को रिपोर्ट साथ उपत्यका प्रवेशका लागि अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश विन्दुमा पुग्नुअगावै प्रस्थान विन्दुमा नै रोक्ने र यसका लागि सुरक्षा निकायलाई विशेष निगरानी गरी आवागमनमा कडाइ गर्न भनिएको छ । काठमाडौँ उपत्यकामा समेत कोभिड–१९ को सङ्क्रमण देखिँदै आएको छ । अहिले विभिन्न क्षेत्र सिल गरेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले गृहमन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएर लागिसकेको बताए ।
लुकीछिपी प्रवेश गर्नेको लगत लिइने
काठमाडौँ उपत्यकाका स्थानीय तहले प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने भएको छ । त्यस विषयमा आवश्यक कारवाही अघि बढाउने कुरा पनि गृहको परिपत्रमा उल्लेख छ । स्थानीय संस्था तथा क्लबले राहत वितरण र खाना वितरण गर्दा भीडभाड बढ्न गई जोखिम बढाएकाले उक्त कार्य स्थानीय तहको समन्वय नभएमा रोक्न पनि भनिएको छ । त्यस्तो कार्य समन्वय गरेर स्वास्थ्यसम्बन्धी मापदण्डका आधारमा मात्रै वितरण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणबाट मुलुकमा ४४४ व्यक्ति सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!