बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त आयोजनामा रत्नराजमार्गमा चेकजाँच गरिएको छ।
बाँके बैजनाथ गा.पा. १ स्थित मिनि गाभर नजिक सुर्खेत-नेपालगञ्ज रुटमा सिट क्षमता भन्दा बढी यात्रुका कारण हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ४५ वटा सार्वजनिक सवारी साधनलाई चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा ग्याप सिट र अतिरिक्त सिट जडान गरी यात्रु ओसारपसार गर्ने *२७ वटा सवारी साधनलाई कारबाही* गरिएको छ। साथै उक्त सवारी साधनबाट जम्मा *८२ वटा थप ग्याप सिट तथा मुढाहरू* नियन्त्रणमा लिइएको छ।
थप सिटमा यात्रा गर्ने यात्रुहरूलाई अन्य सवारी साधनमा व्यवस्थापन गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।