१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभावबारे अन्तर्कृया, शिक्षामा अपुरणिय क्षति हुन सक्ने विज्ञहरुको भनाई

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

बुटवल,
विभिन्न क्षेत्रका विज्ञहरुले कोरोना भाइरस कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुन सक्ने खतरा औंल्याउनु भएको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाई उपलव्धि गुम्न सक्ने र बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उहाँहरुको भनाइ थियो ।
रोटरी क्लव अफ बुटवलको आयोजना र रिजन-५ अन्तर्गतका रोटरी र रोट्रयाक्ट क्लवहरुको सह-आयोजनामा भएको ‘शिक्षा क्षेत्रमा कोभिड–१९ को प्रभाव र अवको अभ्यास’ विषयक भर्चुअल अन्तर्कृयामा सहभागी विज्ञहरुले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटानका डिष्ट्रिक गभर्नर राजीव पोखरेलले कोभिड–१९ को महामारीले शिक्षा क्षेत्रमा अन्यौलतासँगै चुनौती थपिएको बताउनु भयो । लामो समय विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असर परेको, पढ्ने बानी छुटेपछि बीचमै पढाई छाड्ने दर बढ्ने खतरा रहेको उहाँको भनाइ थियो । शहरी क्षेत्रमा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहज मानिए पनि ग्रामीण क्षेत्रमा यो निकै कठिन रहेको र अधिकांश विद्यार्थी प्रविधिको पहुँचबाट समेत बाहिर रहेको उल्लेख गर्दै उहाँले संकटको बेलामा शिक्षा क्षेत्रमा जागरुकता ल्याउन रोटरीयनहरुको भूमिका बढेको बताउनु भयो ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिपक शर्माले सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई जोड दिंदै आगामी असोज १ गतेदेखि लागू हुने गरी सिकाई सहजीकरण निर्देशिका ल्याएको जानकारी दिनुभयो । विज्ञहरुको सुझावका आधारमा ३० प्रतिशत पाठ्यक्रम घटाएर भएपनि शैक्षिक सत्र खेर जान नदिइने उहाँको भनाइ थियो । ‘नियमित पठनपाठन सुरु नभएसम्म वैकल्पिक पठनपाठनमा जानुको विकल्प छैन, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियमित पठनपाठन सुरु गर्न सकिने अवस्था पनि छैन’– उहाँले भन्नुभयो । प्रवक्ता शर्माले प्रविधिको पहुँच नपुगेका विद्यार्थीलाई पनि पठनपाठनमा सहभागी गराउने तरिका र विकल्पबारे मन्त्रालयले गृहकार्य गरिरहेको बताउँदै विश्वविद्यालयहरु भने वैकल्पिक सिकाईमा अझ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) का वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा संसारकर्मी राजेन्द्र बानियाँले विद्यालय बन्द हुँदा बालबालिकाले बीचमै पढाई छाड्न सक्ने खतरा सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको बताउनु भयो । सिकाई निर्देशिका ल्याउन मन्त्रालयले छ महिना लगाएको भन्दै उहाँले शिक्षामा निजी क्षेत्रको योगदानलाई पनि नबिर्सन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
अहिले देशभरका दुई हजार भन्दा बढी निजी विद्यालय बन्द रहेको र त्यहाँ कार्यरत मध्ये ४० हजार शिक्षक कर्मचारीले रोजगारी गुमाउन सक्ने संभावना रहेको भन्दै उहाँले २० प्रतिशत विद्यार्थीले निजी स्कुल छोड्न सक्ने संभावना पनि औंल्याउनु भयो । बालबालिकाका लागि हालको शिक्षण सिकाई प्रणाली गलत रहेकाले अव भने कोभिड–१९ को प्रभावसँगै सिकाई प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने बेला आएको बानियाँले बताउनु भयो । उहाँले विद्यार्थी भर्ना र वार्षिक शुल्क उठाउने कुरालाई खुला गर्न पनि माग गर्नुभयो ।
रोटरी नेपाल साक्षरता अभियान आरआई डिष्ट्रिक ३२९२ नेपाल-भुटानका चेअर एवं पूर्व डिष्ट्रिक गभर्नर तीर्थमान शाक्यले शिक्षा क्षेत्रमा रोटरीले चलाएको अभियानबारे जानकारी गराउँदै शतप्रतिशत साक्षर बनाउने गरी रोटरी अभियान अघि बढेको बताउनु भयो । उहाँले शिक्षकहरुलाई इ–लर्निङ प्रति उत्प्रेरणा जगाउने गरी रोटरीले अभियान चलाएको पनि बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र ध्वजुको स्वागत मन्तव्यबाट सुरु भएको अन्तर्कृया कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठ, पूर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरी, चिन्तामणी भट्टराई लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । रोटरियन, रोट्रयाक्ट र शिक्षा क्षेत्रसँग सम्बद्ध करिव साढे २ सय जनाले सहभागिता जनाउनु भएको उक्त अन्तर्कृया कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुर सिटीबाट पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ, सर्विस प्रोजेक्ट चेअर रुपेश शर्मा र रोटरी क्लब अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको उपस्तिथी थियो । रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण क्लबका पूर्व अध्यक्ष राजेन्द्र लम्सालले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!