०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

रासायनिक (मल) नपाउदा किसानहरु चिन्तित हुदै

Logo
प्रकाशित सोमबार, कार्तिक २४, २०७७

राजन चौधरी
दुई हप्तादेखि रासायनिक मलको खोजीमा रहेका धनगढी उपमहानगरपालिकाका किसान नारायण राना मल नपाउँदा निराश छन् । धानबाली भित्र्याइसकेपछि गहुँ छर्ने तयारीमा रहेका उनी सरकारी अनुदानको रासायनिक मल खोजीका लागि दिनहुँजसो बिक्रेतासँगको सम्पर्कमा रहे पनि अझै पाउन सकेका छैनन् । “गहुँ छरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मल पाउन नसक्दा गहुँ छर्न ढिला भइसक्यो”, शनिवार धनगढी बजारमा भेटिनुभएका रानाले भने, “यो मल प्रयोग नगरौँ भने उत्पादन हुँदैन ।”
आफूलाई गहुँ खेती गर्न चाहिने सरकारी अनुदानको रासायनिक मलका लागि स्थानीय एक सहकारी संस्थालाई तीन हप्ताअघि नै पैसा छोडर गएका धनगढीका अर्का किसान वीरबहादुर चौधरीले सहकारीमा मल नआउँदा अझै पाउन सकेका छैनन् । उनले भने, “कृषि सामग्रीले वितरण गर्ने सरकारको अनुदानित मल पाउने छाँट यसपालि देखिँदैन ।”
यतिबेला धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । सरकारको अनुदानको मल बिक्रीवितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीमा मलको मौज्दात सकिएपछि मलको अभाव सिर्जना भएको हो ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरलगायत जिल्लामा कात्तिक दोस्रो हप्तादेखि मङ्सिर पहिलो हप्ताभित्रमा गहुँ छर्ने गरिन्छ । बाली लगाउने समयमा बर्सेनी हुने रासायनिक मलको चरम अभावले हैरानी खेप्नुपर्ने समस्या आफूहरुका लागि स्थायी समस्या भइसकेको कृषकको भनाइ छ ।
समयमै सम्बन्धित निकायले आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापन गर्न नसक्दा मलको अभाव हुने गरेको हो । तोकिएको कोटाअनुसारको मल समयमै आपूर्तिको व्यवस्थापन गर्नमा भइरहेको कमीकमजोरीले मल अभाव हुने गरेकामा प्रदेशमा हरेक बालीका लागि कति मलको आवश्यकता पर्छ भनेर आँकलन गर्न नसक्नु पनि मल अभाव हुनाको अर्को कारण रहेको बताइएको छ ।
बिक्रीवितरण हुँदै आएको सरकारी अनुदानको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेट र ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्ना अधिकृत बिक्रेतामार्फत बिक्रीवितरण गर्दै आएको छ । धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले प्रदेशमा वार्षिक कति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा हुन नसक्दा पनि मल अभाव देखिने गरेको बताए ।
पाण्डेले भने, “जथाभावी रुपमा अन्धाधुन्ध रुपमा युरिया र डिएपी मल प्रयोग गर्ने प्रवृत्तिले मलको खपत पनि बढ्दै जाँदा प्रदेशमा कति मल चाहिन्छ भनेर यकिन परिमाण कसैलाई थाहा नै छैन ।” अन्धाधुन्ध रुपमा मल प्रयोग गर्ने गरिएकाले यसबाट माटोमा बढेको अम्लियपनले उत्पादनमा प्रतिकूल असर पुगिरहेको जनाइएको छ । अधिकांश किसान कुन बालीका लागि कहिले र कति परिमाणको रासायनिक मल प्रयोग गर्ने भन्नेबारेमा समेत जानकार नहुँदा यो मल जथाभावी प्रयोग भइरहेको देखिएको छ ।
मलखादको बिक्रीवितरणको प्रभावकारी अनुगमन हुन नसक्दा अधिकृत बिक्रेताले अनुदानको मल आफूखुशी ढङ्गले बिक्री मूल्य तोकेर बेच्ने गरेको गुनासो पनि कृषकको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू वर्षको हालसम्म युरिया तीन हजार ४४५, डिएपी ८६४, पोटास ६० मेट्रिक टन बिक्री गरेको छ । डिएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिङ्गल सुपर फस्पेट (एसएसपी) दुई हजार ८३८ मेट्रिक टन बिक्री गरेको छ । हाल कार्यालयसँग युरिया र डिएपी मलको मौज्दात शून्य रहेकामा एसएसपी मल ५२७ मेट्रिक टन मौज्दात रहेको छ ।
यस्तै कृषि सामग्री कम्पनीको धनगढी कार्यालयमार्फत चालू वर्षको हालसम्म डिएपी ७३० र पोटास १० मेट्रिक टन बिक्री गरेको छ । हाल मलको मौज्दात सकिएकामा आगामी केही दिनभित्रमा मल आउन लागेको कार्यालयका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । कृषि सामग्री र साल्ट ट्रेडिङले तोकेका अधिकृत बिक्रेतामार्फत हालसम्म यो मल बिक्री हुँदै आएकामा आउने मङ्सिरबाट स्थानीय तहले सिफारिस गरेका अधिकृत बिक्रेतामार्फत बिक्री वितरण गर्न लागिएको छ ।
सरकारले मलखाद बिक्रीवितरण निर्देशिका २०७७ जारी गरी यस्तो व्यवस्था गर्न लागिएको जनाइएको छ । निर्देशिकामा स्थानीय पालिकाका उपप्रमुख-उपाध्यक्षको संयोजकत्वमा मलखाद आपूर्ति समिति गठनको व्यवस्था गरिएको छ । यो सामितिलाई आफ्नो क्षेत्रमा मल बिक्री गर्ने अधिकृत बिक्रेताको सिफारिसको कामको अलावा मल आपूर्तिको व्यवस्थापन लगायतका विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]