२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

विद्यार्थीहरुको रोजाइ बन्यो काठमाडौंको दरबार हाइस्कुल

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(ABC Sanchar)
काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।
क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कूलको आकर्षण कायमै थियो । विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो । पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।
नेपाल सरकारले काठमाडौँ उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कूलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या निर्धारित सङ्ख्यामा पुगेको छ । काठमाडौँ महानगरपालिका वडा नं २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।
भवनको निर्माणसँगै भानु माविमा २८७ र संस्कृत माविमा ३०० गरी विद्यार्थी सङ्ख्या ५८७ पुगेको छ । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालीम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कूल ३०० विद्यार्थी थिए ।
‘अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थीहरू आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिने छन्’, सदस्य बज्राचार्यले भन्नुभयो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिल जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन् ।
भवनको डिजाइन ‘चाइना एभिएशन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउँछन् । पुनःनिर्मित विद्यालय भवनको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।
शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्शा पासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।
भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । कुल रु ८५ करोड ५९ लाखको लागतमा निर्माण गरिएको दरबार हाइस्कूलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।
गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ ।
भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरुप विद्यार्थी आउने बताउँछन् । उनले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएकोे जानकारी दिए ।
नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ ।
तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए । राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कूूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।
विसं १९३३ मा रणोद्दीपसिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि त्यहाँ पढ्न पाउने व्यवस्था भएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक… बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी […]

बाँके । नेपालगञ्ज लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जमा नव निर्मित अत्याधुनिक अपरेशन थियेटर भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सो भवनको उद्घाटन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेत नारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू, प्रदेश सरकारका प्रतिनिधिहरू तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा मुख्यमन्त्री आचार्यले स्वास्थ्य पूर्वाधारमा सरकारको प्रतिबद्धता […]

  यमन । जहाजका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ। युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए। सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीगी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन […]

error: Content is protected !!