०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

रोकिएन चोरी र मिसावट नेपाल आयल निगममा

Logo
प्रकाशित शुक्रबार, मंसिर २६, २०७७

(सन्दीप योगी) काठमाडौं                                       सुरक्षा र निगरानी बढाए पनि नेपाल आयल निगम पेट्रोलियम पदार्थको चोरी, नोक्सानी र मिसावटको चुनौतीबाट मुक्त हुनसकेको छैन । तेल ढुवानी गरेको ट्याङ्कर अपहरण हुने, कम परिणाममा तेल ल्याउने र मिसावट गर्ने काम ढुवानीमै संलग्नबाट हुँदै आएको छ ।
पछिल्लो घटनामा स्वीकृत मापदण्ड विपरीत ना. ७ ख ३६९७ र ना. ७ ख २९९५ नम्बरका ट्याङ्करले फल्स च्याम्बर थपेर चोरी गरेको पाइएको छ । मङ्सिर ४ गते निगमको थानकोट डिपोबाट सो कैफियत पत्ता लागेको हो । प्रहरीको केन्द्रीय अनुसान्धान ब्युरोले चालकहरू अजय लामा र विकेश लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
चोरी, नोक्सानी र मिसावट रोक्न निगमले सुरक्षा र नियमनका उपाय नअपनाएको पनि होइन । यसका लागि विभिन्न प्रविधि लागू गरेको मात्र छैन, नियमन र अनुगमन पनि बढाएको छ । दुई वर्षअघि एकल ताला प्रणाली लागू गरेर पुरानो प्रविधिको लिड सिल विस्थापित गरेको थियो । यसबाट चोरी, मिसावटमा कमी आए पनि पूर्ण रूपमा नियन्त्रण भने हुन सकेन ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्नुहुन्छ, “एकल ताला प्रणाली लागू भएपछि धेरै हदसम्म चोरी मिसावट रोकिएकै हो, अझै एकाध घटना भइरहेका छन् । ” यसरी बदमास गर्नेहरू उम्कन भने नपाएका उहाँको दाबी छ । उहाँले भन्नुहुन्छ, “अब हामी इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस)मा जादै छौँ । ” उक्त प्रणाली लागू भएपछि चोरी, मिसावटमा कमी आउने र प्रत्यक्ष निगरानी गर्न सकिने निगमको दाबी छ ।
ईआरपी प्रणाली लागू गरिँदै
पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा काम गर्ने भएको छ । यो प्रणाली सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यलाई विद्युतीय
(डिजिटलाइज) प्रणालीमा लैजाने छ ।
सोही प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम
(ईसीटीएस)बाट जीपीएस प्रणालीमा लैजाने भएको छ । चालू आर्थिक वर्षमा तयारीका काम सकेपछि २०७८ साउनदेखि सो प्रणाली लागू गर्ने भएको छ । अहिले आन्तरिक तथा कार्यालयको तयारीका काम भइरहेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
ट्याङ्करलाई अनलाइनबाट निगरानी गरिने छ । पेट्रोलियम पदार्थ भर्दा र खन्याउँदासम्मको गतिविधि निगरानी हुनेछ । उनीहरूको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुनेछ ।
व्यवस्थित काम, वित्तीय सुशासन
ईआरपी जडानका लागि निगमले टेन्डर गरी सम्झौता गरिसकेको छ । संरचनागत तयारीका काम सुरु भएको र आउने दुई वर्षमा पूर्ण रूपमा कार्यान्वयन भइसक्ने छ । निगमका अनुसार ईआरपी प्रणालीले दैनिक कामलाई व्यवस्थित गर्नेछ । वित्तीय सुशासन प्रभावकारी हुनुका साथै छिटोछरितो र प्रभावकारी सेवा प्रवाह हुनेछ । प्रवक्ता उपाध्याय भन्नुहुन्छ, “निगमको सबै गतिविधिलाई डिजिटलाइज गर्ने हो । वैज्ञानिक तरिकाले चेकजाँच र अनुगमन हुनेछ । प्रविधिमैत्री भएर प्रभावकारी सेवा दिने हो, समग्रमा पेपरलेस बनाउने हो । ”
ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमको दाबी छ । यसले निगम मात्र नभई नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्नेछ । सो सफ्टवेयरका लागि निगमले करिब २३ करोड रुपियाँ लगानी गर्ने भएको छ । इन्डियन आयल कर्पोरेसनले पनि ईआरपी प्रणाली लागू गरेको छ ।
ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ । अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुनेछ । अनलाइनमा काम हुने भएपछि जनशक्तिको आवश्यकता कम हुनेछ । त्यसका लागि निगमले सङ्गठन संरचना र दरबन्दीलाई समयानुकूल पुनरवलोकन गर्ने भएको छ । साथै निगमलाई चुस्त र समयानुकूल बनाउन वस्तुपरक स्वैच्छिक अवकाशको योजना लागू गरिने उपाध्यायले जानकारी दिनुभयो ।
ईआरपीअनुसार निगमका देशभर भएका प्रादेशिक कार्यालय, डिपो र विभागको दैनिक कामकारबाही एकीकृत सूचना प्रणालीमा आउने छ । जसबाट एकै स्थानमा बसेर निगरानी र निर्देशन गर्न सकिने छ । प्रशासनभित्रको बेथिति र ढिलासुस्तीलाई तत्काल रोक्न सकिने छ । पेट्रोलपम्प तथा बिक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्ने छन् । सबै तथ्याङ्क अनलाइनमा प्रणाली आउने छ । निगमका सबै कामहरू एकीकृत र व्यवस्थित हुने छन् । गोर्खापत्र अनलाईन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!