११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दलित बस्तीमा खाने पानीको हाहाकार

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७


(ABC Sanchar)
गलकोट। हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन ।
चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पुर्याउने वाचा भने अझै पूरा हुन सकेको छैन । बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशक बित्दासमेत पूरा हुन सकेको छैन । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुलजस्तै बन्दै गएका छन् । हरेक हिउँदमा पानीको प्यास मेट्न नपाएको लामीचौर गाउँ चुनावी नारामा भने घरघरमै पानीका धारा आउने गरेका छन् । दुई सयभन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।
विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा रहेका छन् । त्यही धारामा समेत बर्खाको समयमा पानी आउने र हिउँदको समयमा आक्कलझुक्कल मात्रै खानेपानी आउने गरेको स्थानीय मनबहादुर नेपालीले जानकारी दिनुभयो । रेशको बौरमुनीबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ ।
“कहिलेसम्म दलित बस्तीले खानेपानीको अभाव झेल्दै आउने”, नेपालीले भन्नुभयो, “नगरपालिकाको अन्य स्थानमा खानेपानीको पहँुच पुग्ने, हाम्रोमा किन भएन, यो त दलित माथिकै शोषण भएको छ ।” बर्खामा समेत बस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ । हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिन जाने गरेको स्थानीय समुदायले जनाएको छ । उपल्लो बस्तीमा आउने पानी तल्लो बस्तीमा नआउने भए पनि कसैको चासो नहुँदा वषौंँदेखि दलित बस्तीले खानेपानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जनकुमार सिंह विश्वकर्माले दुखेसो गर्नुभयो ।
“त्यस ठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो, हालसम्म सार्थकता पाउन सकेको छैन, त्यही पानी उपल्लो बस्तीमा पुग्छ, तर हाम्रो बस्तीमा आउँदैन”, विश्वकर्माले भन्नुभयो, “नयाँ स्रोतको पहिचान आवश्यक छ, छिमेकी गाउँले स्रोत नदिएपछि लिफ्टको विकल्प छैन ।” उहाँले हरेक राजनीतिकर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै १५ वर्षभन्दा बढी भएको बताउनुभयो ।
स्थानीय निर्वाचनताका मात्रै खानेपानी ल्याउने प्रतिबद्धता थियो, यसपटकको स्थानीय निर्वाचनका पालामा खानेपानी ल्याउने भनेपछि आशा जागेको भए पनि यसपटकसमेत निर्वाचनको तीन वर्ष पुग्नै लागेको गुनासो गर्दै आएका छन् । अब अर्को चुनावमा पानीको एजेण्डा लिएर दलित बस्तीमा नछिर्न स्थानीय युवा दिलीप खातीको सुझाव छ ।
खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरपालिकाभर मेरो कार्यकाल सकिँदा सबै घरमा एक घर एक धारा बनाउने अभियान छ, धेरै सङ्कटग्रस्त क्षेत्रमा खानेपानीको समस्या समाधान भइसकेको छ”, पौडेलले भन्नुभयो, “सिगाना लामीचौरको सन्र्दभमा धेरै समय लाग्यो तर आफ्नो कार्यकालभित्र घरघरमा धारा पुर्याएरै छाड्छु ।”
झण्डै रु एक करोडको लागतमा खानेपानी ल्याउने गरी डिपिआर तयार भए पनि मुहान नहुँदा सायकोटको ६५ घरमा गत वर्षनै धारा पुर्याइएको र दलित बस्तीका लागि काठेखोला गाउँपालिका–७ रेश खानीदुलोबाट लिफ्ट खानेपानीको आयोजना अगाडि बढेको लामीचौर सायकोट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार मुहान पहिचान र सम्झौता भएकाले ढिलै भए पनि खानेपानी पुर्याउन सकिने आशा व्यक्त गर्नुभयो ।
प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसके पनि अहिले आयोजनास्थलमा मोटरबाटो पुर्याउने कार्य भइरहेको र अब दलित बस्तीमा खानेपानी पुर्याउने आशा पलाएको वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट यो वर्ष रु ११ लाख बजेट आए पनि आयोजना अगाडि बढेमा बजेटको कमी नहुने प्रदेशबाट प्रतिबद्धता आएको वडाध्यक्षको भनाइ रहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!