०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

निर्वाचनको सुरक्षा योजना ९८ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७


ABC (क्राईमबिट) काठमाडौं । राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।

गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक-एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुदृढ सुरक्षा व्यवस्था आवश्यक भएकाले निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माण तथा तयारीलाई प्राथमिकतामा राखिएको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताए । विगतका निर्वाचनको अनुभव तथा सिकाइसँगै विद्यमान र सम्भावित सुरक्षा चुनौतीको सूक्ष्म विश्लेषण एवं मूल्याङ्कन गरी निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन मन्त्रालयले सरोकारवाला सम्बद्ध निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।

नेपाल प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखी उपलब्ध जनशक्ति एवं स्रोतसाधन अधिकतम परिचालन गर्ने गरी ‘निर्वाचन सुरक्षा रणनीति तथा योजना’ बनाउने कार्य भइरहेको जनाएको छ । निर्वाचन शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी प्रहरीले निर्वाह गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने सुदृढ सुरक्षा योजना तथा रणनीति निर्माणको कार्य भइरहेको जानकारी दिए । दुई चरणको निर्वाचनमा कम्तीमा १० हजार प्रहरी मतदान स्थलमा खटिने छन् ।

त्यस्तै मतदान टोली र मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै करिब ९८ हजार दुई सय म्यादी सुरक्षाकर्मी भर्ना गरिने प्रहरीले जनाएको छ । प्रवक्ता कुँवरले कार्यालय कुरुवाबाहेक ६५ हजार प्रहरी निर्वाचन सुरक्षामा परिचालन हुने जानकारी दिए । ‘‘विगतका वर्षको निर्वाचनमा सहभागी गराए जति नै म्यादी प्रहरी भर्ना गर्नुपर्ने देखिन्छ,’’ उनले थपे- ‘‘यस विषयमा सम्बद्ध निकायसँग छलफल जारी छ । मतदान केन्द्रहरूलाई सुरक्षाका दृष्टिले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन चरणमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइनेछ ।’’

यस विषयमा मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संवेदनशीलताको मूल्याङ्कन र विश्लेषण गरी आवश्यक विवरण पठाउन निर्देशन दिएको छ । प्रहरीका लागि आवश्यक सञ्चार उपकरण, सवारी साधन र हतियारसहितका बन्दोबस्ती सामग्री उपलब्ध गराउने विषयमा छलफल जारी छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी तथा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिने तयारी भएको छ । मतदान स्थल तथा केन्द्रको पहिलो घेरामा प्रहरी बसे पनि त्यसपछिको शान्ति सुरक्षा र ढुवानी सशस्त्र प्रहरी र गस्ती सुरक्षामा सेना खटिने छ ।

सशस्त्र प्रहरी बलले पनि सशस्त्र मुख्यालयदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षा सेल गठन गरिसकेको जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले मुख्यालयमा सशस्त्र अतिरिक्त महानिरीक्षक, प्रदेशमा डीआईजी र जिल्लामा एसपी र डीएसपीको कमान्डमा निर्वाचन सुरक्षा सेल गठन गरिएको जानकारी दिए ।

निर्वाचन सुरक्षामा परिचालन हुने सुरक्षा जनशक्ति, चुनौती, सुरक्षा उपकरण लगायत विषयमा योजना रणनीति बन्दै छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!