२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

प्रदेश नं २ मा अत्यधिक चिसोबाट ४ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

(ABC Sanchar)
केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ। केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ।

प्रदेश नं २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले राससलाई जानकारी दिए।

सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ ।

शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ्याङ्ग्रिदो चिसोबाट बचन परालकै ओड्ना, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ ।

हालको दक्षिणी पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएको हो । जसले गर्दा अधिकतम तापक्रम घट्न गई चिसो बढन गएको मौसम विज्ञको भनाइ छ ।

चिसो बढेकै कारण प्रदेश नं २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ । चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगबाट प्रभावित भएका वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने मानिस प्रभावित भएका छन् । चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको छ ।

लामो समयको शीतलहरपछि घाम लाग्दा..

धनुषा– आज एकाबिहानै झलमल्ल घाम लागेपछि धनुषा जिल्लासहित मध्य तथा पूर्वी तराई–मधेशका गाउँ÷नगरबस्तीमा खुशीयाली छाएको छ ।

विगत १० दिनदेखि बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो । यसपाली पुस महिनाको अन्तिम सातादेखि दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै जाडो बढेको थियो ।

पुसको अन्तिम सातादेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बढ्दा जाडोले कठ्याङ्ग्रिएर बस्नु परेको थियो । गत सोमबारदेखि लगातार बाक्लो हुस्सुले ढाकेर घाम नदेखिँदा बढेको चिसो आज एकाबिहानै पारिलो घाम लागेपछि जनकपुरधामसहित धनुषाका सबैजसो बजारमा ह्वात्तै चहलपहल बढेको छ ।

यसपाली पुस अन्तिम सातादेखि नै दिनदिनै चलेको शीतलहरले यहाँको जनजीवन वाक्कदिक्क नै बनेको थियो । घाम देखिनासाथ १० दिनदेखि जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न घर बाहिर निस्केका छन्् । पारिलो घाम लागेपछि स्कुले नानीहरु खुशीले दङ्ग पर्दै खेलकूद र पठनपाठनमा लागेका देखिन्छन् ।

बिहानै घाम झलमल्ल देखिएपछि अब मौसम राम्रो हुने आशमा लुगा धोएर जीविकोपार्जन गर्ने धोबी पानीघाटमा लुगा धुन थालेका छन् । ‘धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा घाम नलागेर शीतलहरको कारण घरमै थुप्रिएको थियो’, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारका लाल साफी धोबीले भन्नुभयो, “अब भने काम गर्न पाइने भयो ।”

पारिलो घाम देखिएपछि कृषि कार्यमा व्यस्तता बढेको छ भने चौपाया बस्तुभाउ खोलेर डुलाउन पशुपालक किसान लागेका छन् । अब दुई चार दिन लगातार घाम लागे तरकारीखेती गोडमेल र खेतबारी खनजोत गर्न हुने किसानको आशा छ । धनुषाको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र क्षीरेश्वरनाथ नगरपालिका–१० दिगम्बरपुरका किसान बेचन महतोले मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने बताउनुभयो ।

त्यसैगरी अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा गाईभैँसी र बाख्रापाठा फुकाउन वा डुलाउन पाएका छन् ।

एकाबिहानै झलमल्ल घाम

महोत्तरी । एकाबिहानै आज झलमल्ल पारिलो घाम लागेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा मौसम सुध्रने आशा बढेको छ ।

एकाबिहानै पारिलो घाम लागेपछि अब हुस्सु र चिसो स्याँठ चल्ने क्रम रोकिएर मौसम सफा हुने यस भेगमा आश बढेको हो।

यसअघि आइतबार मध्यान्हपछि दिउँसो घाम देखिएको थियो । महोत्तरीसहितका प्रदेश नं २ का सबैजसो जिल्लामा
पछिल्लोपटक गत पुस २७ गतेयता आइतबार दिउँसो पहिलो पटक घाम देखिएको थियो ।

गरिबी र अभावले जाडो छल्न सकस परेका बस्तीमा एकाबिहानै झलमल्ल घाम देखिएपछि खुुशी छाएको छ । “आइतबार दिउँसो घाम देखिए पनि चिसो बतास चलिरहेको हुँदा के होला भन्ने संशय थियो” बर्दिवास नगरपालिका–७ मनहरिपुरकी १७ वर्षीया किशोरी प्रीति खत्रीले खुशी हुँदै भने, “आज एकाबिहानै पारिलो घाम लागेपछि अब चै मौसम तात्ने विश्वास बढ्यो ।” आइतबार मध्यान्हअघि एक सातासम्म घाम नदेखिँदा घरमै कुञ्जिजस्तो भएका बालबालिका आज सखारै घाम देखिएपछि खुशीले उफ्रदै आँगनमा खेल्न थालेका छन् । गरिब बस्तीका वृद्धवृद्धाका लागि एकाबिहानै लागेको पारिलो घाम अपूर्व कुरो पाएजस्तो बनेको छ ।
यसपाली गत मङ्सिर अन्तिम सातादेखि नै आकास धुम्मिएर राम्ररी घाम नलाग्दा जनजीवन कष्टकर बन्दै आएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!