१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

सीमाबाट ३०१ महिला तथा बालबालिकाहरुको उद्धार

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

(सर्मिला बोगटी)
टीकापुर । एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन् । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागिन् ।

कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे । युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त हुनुभयो तर युवकसँग नजानुको विकल्प थिएन ।

घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो । कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरु नेपालले उनीहरुमाथि शङ्का गर्यो । युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरु दम्पती भएको बताए ।

साना हातहरु नेपालका प्रतिनिधिले निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो ।

“मैले साना हातहरुका दिदीहरु देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरुले प्रहरी बोलाउनुभयो”, उद्धार गरिएकी महिलाले भन्नुभयो, “हाल म साना हातको संरक्षणमा बसेकी छु । मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन् । म सिलाइकटाइको काम सिकिरहेकी छु । मैले नयाँ जीवन पाएँ, अब जीवन सुन्दर बनाउँछु ।”

रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन् । यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरु नेपालका स्टेशन संयोजक तुलसी विक बताउँछिन् ।

“हामीले सीमामा बसेर धेरै शङ्का गर्नुपर्ने हुन्छ । हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौँ”, उही विक भन्छिन्, “दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौँ । रोजगारीका लागि भारत जानेहरु बेचिने जोखिम बढी छ ।”

स्टेशन संयोजक विक नेपाली महिलाहरु घाँस, दाउराका लागि भारतीय जङ्गल जाने, किनमेलका लागि पनि भारत जाने भएकाले थप जोखिममा रहेको बताउँछिन् ।

“हामीसँग घाँस काट्न जान थालेको भन्नुहुन्छ, कसरी रोक्नु ? त्यसरी गएकाहरु नफर्कने डर हुन्छ”, उनले भनिन्, “गत वर्ष यसैगरी घाँस काट्न गएकी किशोरी नफर्केपछि बेचिएकी थिइन् । हामीले भारतीय प्रहरीको सहयोगमा एक महिनापछि किशोरीको उद्धार गरेर नेपाल ल्यायौँ ।”

साना हातहरु नेपालले सीमाबाट भारत जानेहरुमा शङ्का लागेकालाई सोधपुछ गर्ने, उद्धार गर्ने र बेचबिखनमा पर्न थालेको भए मुद्दा चलाउनेसम्मको काम गर्छ ।

“साना हातहरु नेपालले सीमामा बसेर प्रहरीलाई सघाएको छ”, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम भन्छन्, “हामी एकापसमा सहकार्य गरेर सीमामा निगरानी गरिरहेका छौँ । सोधपुछका क्रममा शङ्का लागेकालाई उद्धारमा उहाँहरु सहयोगी बनिरहनुभएको छ ।”रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज हरेक वर्ष लाग्ने यस मेलामा टाढा टाढाबाट हजारौं श्रद्धालु भक्तजनहरू सहभागी हुने गर्दछन्। मेलामा स्नान, पूजाआजा तथा धार्मिक अनुष्ठानसँगै स्थानीय व्यापार, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनका स्टलहरूले विशेष रौनक थपेको छ। मेलालाई व्यवस्थित र सुरक्षित बनाउन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। चोरी, ठगी र अवाञ्छित गतिविधि रोक्न सादा पोशाकसहितको प्रहरी परिचालन गरिएको […]

बाँके । नेपालगञ्ज जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य जगदीश प्रसाद वैश्य राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। आज मिति २०८३/०८/०९ गते नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न व्यक्तित्वहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्। *प्रवेश गर्नुहुनेहरू – जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य *जगदीश प्रसाद वैश्य* – जसपा परित्याग गरी राष्ट्रिय जनमत पार्टीमा प्रवेश – युवा क्रान्तिकारी नेता *मो. […]

दाङ । यस कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल बुढा मगर सवारी दुर्घटनामा परी घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा उपचाररत रहनुभएकोमा निजको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङ तथा यस कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट स्वेच्छिक सहयोगस्वरूप संकलित नगद *रु. ८२,५००/- (अक्षरेपी बयासी हजार पाँच सय रुपैयाँ)* एकमुष्ट रूपमा […]

error: Content is protected !!