१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

झापाका १५ वटै स्थानीय तह झलमल बल्न समृद्ध बन्दै

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
झापा । तीन वर्ष अघिसम्म साँझ नपर्दै सुनसान हुने झापाका अधिकांश ग्रामीण क्षेत्रका बजारमा अहिले राति अबेरसम्म निक्कै भीडभाड हुन्छ । कारण हो, जब साँझ छिप्पँदै जान्छ, तब बजार र सडकका सौर्यबत्ती झलमल बल्न थाल्छन् ।

गल्ली, चौक र सडकमा जडित सौर्यबत्तीले झलमल उज्यालो हुँदा साँझपख घुमफिर गर्ने र किनमेल गर्ने मानिसका कारण बजारमा राति अबेरसम्म नै भीडभाड हुने गरेको हो ।

दिउँसो अफिसको कामले नभ्याएका साँझपख किनमेल गर्न निस्कने परिपाटी बढेपछि साँझ नपर्दै सुनसान हुने झापाका ग्रामीण क्षेत्रका मात्र नभई शहरी क्षेत्रका बजारसमेत अहिले राति अबेरसम्म खुल्दै आएका छन् ।

अझ बिहानको समयमा ‘मर्निङ वाक’ मा निस्कनेहरुका लागि त सौर्यबत्ती वरदान नै सावित भएको छ ।

अँध्यारै सडक पेटीमा मर्निङ वाक हिँड्दा सवारीले ठक्कर देला र मरिएला भन्ने पिरोलो समेत हराएको बिर्तामोड–२ चारपानेका स्थानीयवासी मदनगोपाल सुब्बा बताउँछन् ।

‘मर्निङ वाकमा निस्कने मेरो बानी छ’, उनले भने, ‘म १० औं वर्षदेखि मर्निङ वाकमा निस्कँदै आएको छु, हिजो अँध्यारोमा नै हिँडिन्थ्यो, आज चोकचोक र गल्ली गल्ली सौर्यबत्तीका कारण झलमल हुन्छन्, हिँड्नलाई कुनै डर छैन ।’

उनका अनुसार साँझ नपर्दै सुनसान र बिहान अबेर मात्रै सडकमा मानिसको चहलपहल देखिने झापाका ग्रामीण क्षेत्रका बजार र सडकमा समेत अहिले उज्यालोकै कारण राति अबेर र बिहान सबेरै चहलपहल देख्न पाइन्छ ।

शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका बजार र सडक सफा भएका कारण गाउँगाउँमा अहिले मर्निङ वाकको लहरै आएको छ ।

स्थानीय तहको निर्वाचनपछि चुनिएका जनप्रतिनिधिले आ– आफ्नो ठाउँको विकासमा चासो राख्दै गाउँका बजारलाई स्मार्ट सिटी, धुलौटे सडकलाई कलोपत्रे, सडक पेटीमा सौर्यबत्ती जडान गरेकै कारण झापाका शहरी र ग्रामीण क्षेत्रका बजारसमेत चम्किएको देख्न सकिन्छ ।

‘तीन वर्षअघि म विदेश (दुवई) जाँदा यहाँ केहीको सुविधा थिएन’, बाह्रदशी गाउँपालिका–१ बोक्राझाडीका कृष्ण घिमिरे ‘प्यासी’ ले भने, ‘अहिले राजगढ बजार साँझपख त धपक्कै बल्दो रहेछ ।

गाउँपालिकाले स्मार्ट सिटीको अवधारण अगाडि बढाएर सबै सडक कालोपत्रे, स्थानीयको सक्रियतामा ठूला–ठूला सपिङ मल, उद्योगधन्दा खोलिनु र साँझ पर्दै जाँदा बजारमा देखिने झिलिमिली बत्तीले यहाँको स्वरूप नै बदलिएछ ।’

तीन वर्षअघि उहाँको गाउँमा बिजुली बत्ती पुगेको थिएन । ‘कुपी (मट्टितेल र सलेदोको सहायताले बालिने बत्ती) बालेर बस्नु पथ्र्यो तर अहिले घरघरमा बिजुली पुगेको छ । विदेशमा हुँदै सुनेको थिएँ गाउँपालिकाले उज्यालो बाह्रदशी भन्ने अभियान चलाएको छ, हो रहेछ’, घिमिरेले भने, ‘बाह्रदशीका सबै वडामा अहिले विद्युतको पहुँच पुगेको छ ।’

त्यसो त बाह्रदशी गाउँपालिकाले करोडौँ रुपैयाँ खर्च गर्दै पहिलो वर्ष नै बाह्रदशीलाई उज्यालो बनाउने योजना अघि सारेको थियो । सोही योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दै बाह्रदशीका सातवटै वडामा विद्युत् विस्तार गरिएको हो ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका अनुसार गाउँपालिका गठन भएपछि पहिलो र दोस्रो वर्ष बाह्रदशीमा विद्युत् विस्तारका लागि एक–एक करोड रुपैयाँ खर्च गर्दै विद्युत् विस्तारको पहल थालिएको थियो । प्राधिकरणसँगको सहयोगमा गरिएको विद्युत् विस्तारका कारण दुई वर्षमा सबै वडावासीलाई उज्यालोमा राख्न सकिएको उनको भनाइ छ ।

विकासको दृष्टिकोणले पछि परेको बाह्रदशीमा अहिले मुलुक सङ्घीय संरचनामा गएपछि विकासले फड्को मारेको छ । गाउँपालिकाभित्र रहेका सबैजसो धुलौटे सडक कालोपत्रे गरिनु, गाउँमै १५ शैंयाको अस्पताल निर्माणको काम शुरु हुनु, सात वटै वडामा प्राथमिक स्वास्थ्यचौकीको निर्माण हुनु, गाउँमै बर्थिङ सेन्टरको सुविधा, विपन्न परिवारका लागि छुट्टै र चिटिक्क परेको बस्ती बसाल्न सक्नु, पक्की पुल, झोलुङ्गे पुल, कजवे र आवश्यक परेको ठाउँमा हिमपाइप राख्दै आजतजावतमा सहज बनाएसँगै स्थानीयवासीले समेत राहतको अनुभव गरेका छन् ।

अझ कृषकका लागि कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्दै व्यावसायिक खेतीमा प्रोत्साहित गरेपछि गाउँपालिकाको कार्यशैली प्रति स्थानीयवासी खुशी देखिएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी ट्याङ्की निर्माणदेखि ज्येष्ठ नागरिक चौतारी निर्माणसम्मका कार्यक्रम ल्याएर सबैलाई समेटेपछि गाउँपालिकावासी आफैमा दङ्ग छन् ।

झापा गाउँपालिकामा छात्रा र विपन्न विद्यार्थीलाई साइकलसमेत वितरण गरिएका कारण बीचैमा पढाइ छाड्ने विद्यार्थी समेत विद्यालय जान थालेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

उनले भने, ‘स्थानीय तहमा हामीले अब यो गर्न बाँकी छ भन्ने ठाउँ नै राखेनौँ, सबै पक्षलाई समेटेर समानुपातिक रूपले विकास निर्माणका कामलाई अघि बढाएका कारण झापा गाउँपालिका पछिल्लो केही वर्षभित्रै समृद्ध बन्दै गएको छ ।’

सात वटै वडामा एकएक वटा मुख्य सडकको छनोट गर्दै कालोपत्रेको काम, जीर्ण अवस्थामा पुगेका विद्यालयका भवनलाई पुनर्निर्माण, सबै विद्यालयमा स्मार्ट कक्षा सञ्चालन, कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्णरूपमा छात्रवृत्ति, कृषकलाई पशु उपहारदेखि भकारो सुधारसम्मका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

पन्ध्र वटा स्थानीय तह रहेको झापा र बाह्रदशी गाउँपालिका उदाहरणका लागि मात्रै प्रस्तुत गरिएका गाउँपालिका हुन् । झापा र बाह्रदशीजस्तै सबै पालिकामा अहिले विकास निर्माणका कामलाई पहिलो प्राथमिकतामा राखिएको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रभित्र विकासका पूर्वधारलाई उच्च प्राथकिमतामा राखेर निर्माण गरिरहेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]