२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

कोरोनाको कारण देशभरका ४० प्रतिशत इँटा उद्योगहरु बन्द हुँदै

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७


(राकेश श्रेष्ठ)
चितवन । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउँछन् । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो ।

इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उनको भनाइ छ । चित्रकारले भने, ‘४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् ।

चलेका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।’ उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उनले गुनासो गरे ।

इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ । गत वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् ।

चित्रकारले भने, ‘यस क्षेत्रका तीन लाखमध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।’ उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उनको भनाइ छ ।

भारतीय मजदुर आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उनी बताउँछन् । इँटा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउँछन् ।

महासङ्घका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा इँटाको माग नै कम हुँदा समस्या आएको बताउँछन् । मौसममा भर पर्नुपर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको उनले बताए । ‘कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन्’, उनले भने ।

नेपालमा वार्षिक तीन अर्ब वटा इँटा उत्पादन हुने सङ्घको तथ्याङ्क छ । देशभरमा एक हजार ८०० उद्योग रहेका छन् । सापकोटाको भनाइमा नयाँ ऋणीले सस्तो ब्याजमा ऋण पाए पनि पुरानाले महँगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ ।

उद्योग नचले पनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगसँग रहेको छ । उनले भने, ‘जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योग छन् ।’

उद्योग सञ्चालन गर्न रु दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाइ छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयवासीले प्रदूषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउँछन् ।

पछिल्ला वर्षमा प्रदूषणरहित चिम्नी निर्माण गरी इँटा उत्पादन गरिँदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्णरूपमा प्रभावित भएको व्यवसायी बताउँछन् ।

चितवनको खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउँछन् ।

उनले चैत ११ गतेयता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गरे । उद्योग पूर्णरूपमा नोक्सानमा गएको भन्दै उनले मजदुरका समस्या समाधान र पुनः सञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताए । पण्डितले भने, ‘सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय सङ्कटमा पर्छ ।’

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशिनबाट बचेको भन्दै उनले सरकारी सहयोग भएमा निर्यात समेत गर्न सकिने बताए । विगतका वर्षमा भारतीय सीमा क्षेत्रमा नेपालबाट इँटा जाने गरेको उनले स्मरण गराए ।

नेपाली इँटा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षमा इँटाको विकल्पमा विभिन्न उत्पादन बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोगसमेत घट्दै गएको हो ।

महासङ्घले प्रदूषण र लागत घटाएर इँटा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी सङ्गठित छन् । हालसम्मको तथ्याङ्कलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!