
ABC Sanchar
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको दरवारमार्गमा निर्वाचनको पक्षमा जनमत बनाउन शक्ति प्रदर्शन गर्नेभएको छ । मध्यान्ह १२ बजेदेखि शुरु हुने आमसभामा सो दलका शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइएको छ ।
नेकपा बागमति प्रदेश स्तरीय आमसभाले नागरिकमा निर्वाचनबारे सन्देश प्रवाह गर्ने विश्वास सो दलले गरेको छ । बागमति प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलकाअनुसार दिउँसो हुने बृहत आमसभाको सबै तयारी पूरा भएको र आमसभालाई अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ ।
आमसभा अघि आज विहान ११ बजेदेखि काठमाडौंको विभिन्न स्थानबाट ¥याली निकाल्ने तयारी गरिएको छ । नेता पोखरेलकाअनुसार बागबजार, प्रदर्शनीमार्ग, न्यूरोड, भृकुटीमण्डप, त्रिपुरेश्वर, महेन्द्र शालीक, वसन्तपुर, घण्टाघर, पुतलसीडक, सुन्धारा, गौशला, माइतीघर, लैनचौर, सा्ह्रखुट्टे, टेकु, ज्ञानेश्वर, पुरानो बानेशवरबाट ¥याली निकाल्ने तयारी भएको छ । ¥याली नारायणहिटी संंग्रहालय अगाडि गएर कोणसभामा परिणत हुनेछ ।
मञ्चको तयारी तीन कुना भएको हाईटेक आकारमा बनाइएको नेता पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार मञ्चको देब्रेपट्टि नक्सालको नागपोखरी खण्ड, दाहिने पट्टि ठमेल क्षेत्र र दक्षिण तिर त्रिचन्द्र कलेज घण्टाघर खण्ड रहने छ । सर्वसाधारणलाई नेताको कुरा सुन्न सहजताका लागि विभिन्न ठाउँमा डिजिटल स्क्रिनको व्यवस्थापन गरिएको पोखरेलले बताउनुभयो ।