ABC Sanchar
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि तयारी गरे सँगै नेता कार्यकर्ताप्रति पनि नरम व्यवहार अपनाउन थालेको छ।
वार्ताको चर्चा चलिरहेका बेला वातावरण सहज बनाउने भन्दै प्रहरी हिरासतमा रहेका नेता तथा कार्यकर्तामध्ये केहीलाई छुटाइने तयारी गरिएको छ।
यसअघि अदालतले निर्दोष भन्दै छाड्न आदेश दिएपनि प्रहरीले माथिको आदेश भन्दै विप्लवका कार्यकर्तालाई अदालत गेटबाटै पक्राउ गर्ने गरेको थियो।
यसैबीच, प्रहरी हिरासतमा रहेका विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य एवं अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलालाई भोलि प्रहरीले पुनः पक्राउ नगर्ने भएको छ।
सर्वोच्च अदालतमा बाँस्तोलाको तर्फबाट अनिमा बाँस्तोला भण्डारीले हालेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाई भोलिलाई तोकिएको छ।
न्यायाधीशद्वय इश्वर खतिवडा र डा.मनोजकुमार शर्माको इजलासले आज हेर्न नभ्याएपछि भोलिको निम्ति पेशी तोकेको हो।
सुनसरी जिल्ला प्रहरीले हातहतियार तथा खरखजानामा मुद्दा अघि बढाएको बाँस्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ।
उनलाई एक महिनाअगाडि ललितपुरको दक्षिणी पहाडी भूभागबाट समाती जावलाखेलमा थुनिएको थियो।
वार्ताको लागि वातावरण सहज बनाउने भएपछि भोलि बाँस्तोला छुट्ने छन्।
यसअघि सर्वोच्चले छाड्न आदेश दिँदा पनि अदालतले पुनः पक्राउ गर्दै अन्य जिल्ला डुलाउँदै आएको थियो।