२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको वरिष्ठ सइ वरिष्ठ हवल्दार र सहायक हवल्दारको पद स्थापना जारी

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नयाँ पद थप्नेलगायतका प्रावधानसहित नेपाल प्रहरीको नियमावली संशोधन भएको छ । नियमावली संशोधनले प्रहरीको तल्लो तहका प्रहरी लाभान्वित हुनेछन् । सोमबारको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले बताए । नियमावली स्वीकृत भएसँगै अब नेपाल प्रहरीमा वरिष्ठ नायब निरीक्षक, सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुने भएको छ ।

सइबाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा लामो समय लाग्ने समस्या देखिएपछि बीचमा नयाँ पद थप्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको थियो । गृहले स्वीकृत गरेको करिब पाँच महिनापछि मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत भएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ । यसले प्रहरीको तल्लो तहमा थोरै भए पनि उत्साह थपिने प्रहरी अधिकारीहरूको भनाइ छ । नियमावली कार्यान्वयन भएसँगै एकैपटक सिनियर सइ र जवान एक तह बढुवा हुनेछन् । उनीहरूको ग्रेड पनि ज्येष्ठताअनुसार नै कायम राख्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । प्रहरीमा वर्षौँदेखि यी पद थप्नेबारे छलफल हुँदै आएकोमा अहिले निर्णय भएको हो ।

नियमावली संशोधनसँगै अब कार्यालय सहयोगीको पनि पाँच श्रेणी हुने भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । त्यस्तै, अब बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ । यस्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर ज्येष्ठतामा थपिएको छ । हालको प्रावधानअनुसार बढुवाको सय पूर्णांकमध्ये विभूषणबापत दुई नम्बर जोडिन्छ । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्छन् । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ । जसलाई यथावत् राखिएको छ । विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने निष्कर्षसहित हटाउन लागिएको एक उच्च प्रहरी अधिकारीले बताए । हरेक वर्ष विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको हुने गरेको छ । निश्चित कोटा नभएकाले पहुँचका आधारमा जथाभावी विभूषण वितरण हुँुदा विभूषण नै विवादमा पर्दै आएको छ । नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]