
(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेशका बन मन्त्री सुरेन्द्र हमाल संग गरिएको कुराकानी यस्तो छ । दाइ यो त क्यान्सर हो ।’ लखनउको आरएमएल ल्याबका डा पुनित मल्होत्राको रिपोर्ट ओल्टाइपल्टाइ हेरेपछि डा संकेत रिसालले भने । सधैंं हँसिमजाक गरिरहने रिसालको अनुहार एकाएक फेरिएको देखेरै म झस्किसकेको थिएँ । अलि अघिसम्म ‘पहलमानलाई कुन रोगले छुन सक्छ ?’ भन्दै चस्मामाथिबाट मेरो अनुहार पुलुक्क हेर्दै उनले रिपोर्ट पल्टाएका थिए ।
रिपोर्ट हेरेपछि उनी एकाएक गम्भीर भए । त्योभन्दा बेहाल मेरो भइसकेको थियो । छाँगाबाट खसेझैँ भयो । आँखा तिरमिराए । चक्कर लाग्लाझैँ भयो । तैपनि, पीडा नदेखाएर आफूलाई सम्हाल्ने कोसिस गरेँ । मनमा अनेक कुरा खेल्न थालिसके । तर, रिसालका अगाडि भने रिपोर्टलाई सहज मानेझैँ गरेँ ।
‘धेरै आत्तिनुपर्दैन दाइ । क्यान्सर सञ्चो हुन सक्छ,’ उनले सान्त्वना दिँदै भने, ‘उपचारमा चाहिँ अब ढिलो गर्नु हुन्न ।’
रिसाल भेरी अञ्चल अस्पतालका पेटरोग विशेषज्ञ हुन् । स्थानीय हुन्, त्यसैले पुरानो चिनजान छ । नेपाली कांग्रेसका नेता ज्ञानराज शर्माका छोरा भएकाले राजनीतिक रूपमा पनि हामी नजिक छौँ । त्यसैले उनी मलाई दाइ भन्छन् ।
बिरामी परेपछि डाक्टर रिसाल र मेरो यो चौथो भेट थियो । शरीरको तौल घट्ने र पेटमा गडबडी एकैपटक सुरु भएको थियो । पखाला र आउँ नरोकिएपछि पहिलोपल्ट उनको क्लिनिक गएको थिएँ । उनले औषधि लेखे र एक हप्तापछि आउन भने । एक सातापछि जाँदा अर्को चार हप्ताको औषधि लेखिदिए । त्यो औषधिले पनि काम गरेझैँ लागेन । त्यसपछि म अरुकहाँ धाउन थालेँ ।
डा एम किदवाईकहाँ गएँ । उनको औषधिले पनि छोएन । जयसपुरका वैद्यहरूकहाँ धाएर घरेलु औषधि खाएँ । बाबा रामदेवको क्लिनिकमा पुगेँ । रामदेवका शिष्यले २१ दिनको औषधि दिए र ब्यायाम गर्न सल्लाह दिए । त्यसले पनि छोएन । बिरामी हुँदा साँच्चै मन अस्थिर हुँदो रहेछ । एउटाले एकातिर भन्छ, त्यता गयो । अर्कोले अन्तै भन्छ, उसकहाँ धायो । झण्डै सात महिना त्यसैगरी बितेको थियो ।
आउँ नरोकिएर चर्पीकै बास हुने स्थिति आयो । शरीर गल्दै गयो । जति औषधि खाए पनि सुधार भएन । हैन, अब यसरी भौँतारिएर हुन्न भन्ने लागेपछि फेरि डा रिसाललाई सम्झिएँ ।
‘कहाँ हराउनुभयो दाइ ?,’ देख्नासाथ उनले भने । मैले नढाँटी सबै बताएँ । उनले असन्तुष्टि मिश्रित मजाक गरे, ‘पहलमान भेटेपछि घुमाउनुसम्म घुमाएछन् त ।’‘एक पटक इन्डोस्कोपी गराएर हेरौँ,’ उनले पर्चा लेख्दै भने ।
सुरुमा इन्डोस्कोपी गराएँ । सानो आन्द्रामा केही देखिएन । ठूलो आन्द्राको परीक्षण गर्न कोलोनोस्कोपी गर्नुपर्ने भयो । डा रिसालले भारत लखनउका फिजिसियन डा। पुनित गुप्तालाई पत्र लेखिदिए । कोलोनोस्कोपी गर्दा ठूलो आन्द्रामा घाउ देखियो । त्यसको बायोप्सी गर्न लगाए । त्यसैको रिपोर्ट २ फागुन ०६८ मा इमेलबाट आएको थियो ।
क्यान्सर पुष्टि भएपछि बल्ल मलाई १० महिना ख्यालख्यालैमा फ्याँकेकोमा पछुतो लाग्यो ।
रिपोर्टले मथिंगल घुमिरह्यो । मैले श्रीमतीलाई सम्झिएँं । छोरी श्रीया र छोरा शुभमको माया लागेर आयो । क्यान्सर लागेको थाहा पाएपछि उनीहरूको के हाल होला ?
क्यान्सर रोग कुन चरणमा छ, त्यसैका आधारमा उपचार सफल हुने नहुने टुङ्गो लाग्छ भन्ने सुनेको थिएँ । भर्खर छोएको हो भने पूर्ण निको होला । हैन भने उपचार गरेर पनि निको हुने या नहुने टुङ्गो हुन्न भन्थे भुक्तभोगीहरू । डाक्टरले मेरो क्यान्सर दोस्रो चरणको भनिसकेका थिए । विशेषज्ञबाट निर्क्योल हुन भने बाँकी नै थियो ।
अब घर गएर अनितालाई के भन्ने ? पिर लाग्न थाल्यो । एक मनले नभनौँ कि भन्यो । तर, उसलाई नभने कसलाई भन्ने ? सँगै बाच्ने सँगै मर्ने नाता उसैसँग त थियो । जे हो, त्यही भन्नुपर्छ । अर्को मनले चित्त बुझायो, रोग पत्ता नलाग्नु पो चिन्ता । रोग थाहा भएपछि केको चिन्ता ? अब उपचारको उपाय पो निकाल्नुपर्यो त । डा। रिसालको क्लिनिकबाट निस्कँदा अन्तर्मनको द्वन्द्व चलिरह्यो ।डा मल्होत्राले एक सातापछि पठाएको रिपोर्ट लिएर रिसालकहाँ पुगेको थिएँ । लखनउबाट एक साताभित्र रिपोर्ट इमेल गरिदिने भनेका थिए । नेपालकै फिजिसियनलाई देखाए हुने भनेकाले म रिपोर्ट नकुरेरै फर्केको थिएँ । छोरा शुभमले इमेल चेक गर्यो । रिपोर्टको स्क्यान कपी आएको रहेछ । प्रिन्ट गर्ने झन्झट के गर्नु ? अनितालाई सादा कागज र कलम ल्याउन भनेँ, रिपोर्ट टिप्न ।
लेखिएका बुँदाहरू शुभमले पढ्दै गयो, मैले हुबहु टिपेँ ।
पूरै रिपोर्ट पढेपछि ‘सबै नर्मल’ भनेको छ’ भन्दै शुभम कतै निस्क्यो । हुन पनि, जे शंका गरिएको थियो, रिपोर्टमा त्यो कतै थिएन । क्यान्सर कतै लेखिएको थिएन । तर, प्रस्टसँग लेखिएको ‘कार्सिनोमा स्टेज बी’को अर्थ के होला रु मेरो मनमा चिसो पसेको थियो । शब्दावलीको अर्थ मैले बुझिनँ । वास्तवमा मनमनै झस्किएको पनि नबुझेरै हो । तैपनि, नबुझेरै के चिन्ता गर्नु भनेर मन थामेको थिएँ । अब त्यो बाटो पनि रहेन ।
डा रिसालको क्लिनिक अघिल्तिर खाली रिक्सा भेटियो । एउटा हातमा रिपोर्ट र अर्को हातले रिक्सा समाएर घर फर्कें । अस्पतालदेखि घरबारी टोलको दूरी त्यो दिन निकै पट्यारलाग्दो लागेको थियो । भर्खर हुर्केको चैते मध्याह्नको गर्मीमा डा। मल्होत्राको रिपोर्ट थपिएको थियो । चिटचिट पसिनाले घर पुग्दासम्म शरीर मात्र हैन, अँगौछासमेत निथ्रुक्कै भइसकेको थियो । ओलम्पियन किताबबाट