
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षा डेडिकेटेड फौजका रुपमा खटाई अन्य केही महत्वपूर्ण जिम्मेवारी थप्ने तयारी गरेको छ। गृह मन्त्रालयले रेल्वे सुरक्षादेखि आतंकवादसम्बन्धि गतिविधि रोकथामसम्मका काममा सशस्त्रलाई खटाउन लागेको छ।
गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिने उल्लेख छ। कार्ययोजनामा सशस्त्र प्रहरीमा रेल्वे सुरक्षा गण र प्रतिआतंकवाद सेल गठन गर्ने उल्लेख छ।
सरकारले जनकपुरमा रेल सञ्चालन गर्ने तयारी गरिरहेकाले त्यसका लागि हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । यसअघि मन्त्रिपरिषद्को निर्णयका आधारमा रेलको सुरक्षामा सशस्त्र प्रहरी खटाइएको छ।कार्ययोजनामा सशस्त्रभित्र प्रतिआतंकवाद सेल पनि गठन गर्ने उल्लेख छ। हाल यस्तो सेल नेपाल प्रहरीमा छ। सशस्त्र प्रहरी ऐनमा उसलाई पनि यस्तो अधिकार दिइएकाले सेल गठन गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।