
(ABC-Sanchar)
काठमाडौं । आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् । 
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोलेका छैनन् । १४ औँ महाधिवेशनमार्फत् देउवापछि पार्टीको दोस्रो शक्ति बनेर उदाएका नेता शेखर कोइरालाले आगामी चुनावमा एक्लै लड्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । उनका स्वकीय सचिव दिनेश थपलियाले जनतापाटीसँग कुरा गर्दै भने ‘शेखर दाजुले आगामी चुनावमा कांग्रेस एक्लै भिड्नुपर्छ भन्नुभएको छ ।’ नेता कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चुनावमा एक्लै भिड्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।