२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपालको रेल सञ्चालनमा ढिला किन?

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

(ABC=SANCHAR)
काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताएका छन् । ‘रेल सञ्चालन गर्ने तयारी भइरहेको बेला कानुनको अभाव सिर्जना भयो, कानुन नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौं,’ उनले भने ।

गत १ फागुनयता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो । उद्घाटनको प्रतीक्षामा यसरी दिनहुँ कुद्ने रेल आजभोलि भने दिन बिराएर कुदाउन थालिएको छ । ‘आजभोलि दिन बिराएर ड्राइ रन हुँदै आएको छ, कति ठाउँमा ढुंगा सम्याउनुपर्ने भएकाले रेल रन हुँदा सम्भव नभएकाले दिन बिराएर रन हुने गरेको छ,’ झाले भने ।

यसअघि, फागुन तेस्रो साताभित्र रेलको उद्घाटन गर्ने लक्ष्य राखेर १ फागुनदेखि नै नेपाल रेलवे कम्पनीले ड्राई रन सुरु गरेको थियो । सरकारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट संयुक्त रूपमा उदघाटन गर्ने तयारी गर्दै आएको छ । दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने समय नजुर्दा रेल सञ्चालनमा ढिलाइ हुन पुगेको बताइन्छ । रेलवे कम्पनीले भने दुवै देशका प्रधानमन्त्रीको समय नमिल्दा भन्दा पनि योबीचमा कानुनको रिक्तताका कारण सञ्चालन हुन नसकेको जनाएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री देउवाको चैत तेस्रो साता हुन गइरहेको भारत भ्रमणका क्रममा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा १८–२० चैतमा हुन गइरहेको भारत भ्रमणका क्रममा देउवा र मोदीले संयुक्त रूपमा रेल सेवा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक निर्णय हुने सम्भावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

रेलको ड्राई रन गर्न भारतको कोंकण रेलवे कम्पनीका १४ जना प्राविधिक र नेपाली टोली अहिले खटिएको जनाइएको छ । कोंकण कम्पनीका २६ जना प्राविधिकसहितको टिमले भने उदघाटनपछि रेलवे सञ्चालन गर्नछ । कोंकण कम्पनीका बाँकी १२ जना कर्मचारी उद्घाटनपछि मात्र आउने नेपाल रेलवे कम्पनीले जनाएको छ । १६ महिनाअघि रेलका दुईवटा सेट ३ असोज २०७७ मा भारतबाट ल्याइएको थियो । रेलको ड्राई रन सुरु गर्नुअघि धनुषाको इनरुवास्थित रेल्वे स्टेसनमा १ वर्ष बढी समय पालले छोपेर रेल राखिँदै आएको थियो । भारतीय रेल्वे कम्पनीसँग एक वर्षको वारेन्टीमा खरिद गरिएको रेलको वारेन्टीसमेत समाप्त भइसकेको छ । तत्कालीन सरकारले कानुन, भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन तथा तयारी नै नगरी हतारमा रेल ल्याउँदा लामो समय सञ्चालनबिनै थन्किन पुगेको थियो ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो । यो रेलमार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!