ABC(क्राईमबिट)
प्रहरीले बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्।
मण्डललाई बिहीबार राति १० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
मण्डल ना७ख २६८१ नम्बरको यात्रुबाहक बसबाट काठमाडौं हिँडेका थिए। बस रोकेर चेकजाँच गर्ने क्रममा डिकीबाट २ हजार ९९० पिस लागुऔषध फेला परेको थियो।
उक्त लागुऔषध मण्डलले काठमाडौं लगेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए।
बरामद भएको लागुऔषधमा ९९७ पिस डाइजेपाम, १००७ पिस फेनारगन र ९८६ पिस नुर्फिन रहेको छ।
पक्राउ परेका मण्डललाई जिल्ला अदालत बाराबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। साभार