ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।
सरकारले प्रहरीमा थपेक ३ एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए । त्यसपछि समितिले बढुवा सिफारिस समितिको सचिवालयलाई बढुवाको आधार पठाउन पत्राचार गरेको थियो ।
सचिवालयले पठाएको कार्यसम्पादन मूल्यांकन अध्ययन गरेपछि बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटेको स्रोतले जानकारी दिएको छ । यससँगै डीआईजीहरुको उजुरी खारेज भएको छ । एआईजी बढुवा यही साता हुने स्राेतले जनाएकाे छ।
सरकारले यही १ चैतमा तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक छन् ।
यसविरुद्ध ६ चैतमा डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए । बढुवा सिफारिसको क्रममा डीआईजीहरुको वरिष्ठता र कार्यक्षमता नहेरिएको उनको तर्क थियो । बढुवा सिफारिस गरिएकामध्ये पन्त आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने सिंह र धानुक त्यसपछिका ब्याचका ।
अदालत जाने तयारीमा असन्तुष्ट डीआईजीहरु
बढुवा सिफारिसप्रति असन्तुष्ट डीआईजीहरुले लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिको निर्णय पनि चित्त नबुझेपछि रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
एक डीआईजीले समितिको निर्णय चित्त नबुझेकाले अदालत जाने तयारी गरिएको पर्दाफासलाई बताए । ‘बढुवा पुनरावलोकन समितिबाट पनि न्याय पाएनौं, अब अदालत जान्छौं,’ ती प्रहरी अधिकारीले भने ।