ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हाइस्कुल बिट नजिकै चेकिङ स्थलमा नेपालगन्जबाट २५/३० वटा मोटरसाइकल कोहलपुर भित्रिए । त्यही समयमै १० वटाजति ट्रक, टिप्पर र लामो दुरीका गाडी क्रस भए । दर्जनभन्दा बढी निजी तथा सार्वजनिक साना गाडीले चेकिङस्थल सहजै पार गरे । अर्थात प्रहरीले उनीहरुलाई चेकिङ नै गरेन ।
अचम्मको कुरा, चेकिङस्थलमा ट्रक, टिप्परसहित अन्य मालबहाक सवारीसाधन मात्र ट्राफिक प्रहरीको चेकिङमा परे । अन्य गाडी र मोटरसाइकल चेकिङमा परेनन् । यसको उत्तर हामीले सिधै ट्राफिक प्रहरीलाई गरेनौं । चेकिङका लागि रोकिएका चालक र अन्य वरपरका नागरिकसँग बुझेका थियौं । उनीहरुको उत्तर थियो, ‘जुन साधनबाट पैसा झर्छ, त्यहीलाई मात्र ट्राफिकले रोक्छ ।
अनेक बहानामा दुःख दिएर सय रुपैयाँदेखि माथिसम्म पैसा झार्छ ।’ धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ ।
नेपालगन्जबाट सुर्खेतसम्म पुग्दा ट्राफिकलाई पैसा बाँढ्दाबाँढ्दा एक हजारसम्म रुपैयाँ खर्च हुने उनी बताउँछन् । ट्राफिक प्रहरीलाई पैसा दिएको यथार्थ प्रमाण भने चालकहरुले उपलब्ध गराउन सक्दैनन् ।
ट्राफिक प्रहरीले दिने झन्झटका विषयमा गुनासाहरु भने खुलेर गर्छन् । ट्राफिक प्रहरीले मालबाहक ट्रक तथा ट्याक्टरहरुलाई विभिन्न बाहनामा दुःख दिनेदेखि रकम असुल्ने गरेको गुनासो आउने गरेको छ । प्रहरीले विभिन्न कारण देखाउँदै फाइन (जरिवाना) का नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् ।
स्थानीयहरुले समेत प्रहरीले विभिन्न बाहनामा रकम असुल्ने गरेको गुनासोपछि मिसन टुडे दैनिकस्थलगत रिपोर्टिङमा गएको थियो । त्यस क्रममा प्रहरीले उनीहरुबाट विभिन्न बाहनामा रकम असुल्ने गरेको पाइएको छ । कोहलपुरस्थित हाइस्कुल अगाडि नै मिसन टुडेले स्थलगत रिपोर्टिङ गर्दै गर्दा नेपालगन्जतिरबाट आयो, भे त १३२ नम्बरको ट्याक्टर ।
ट्याक्टरले बालुवा बोकेको थियो । त्यसमा चालकसँगै एकजना पछाडिको ट्रलीमा तीनजना सवार थिए । ट्याक्टरलाई सुरक्षाकर्मीले रोके । तीमध्ये चालक सुरक्षाकर्मी भएतिरै आए । त्यहाँ उनी करिब ३–४ मिनेट जति नै बसेका थिए । त्यतिबेला मिसन टुडे दैनिकले ट्याक्टरमा रहेकालाई किन रोकेको भनेर जिज्ञासा राख्यो ? ट्याक्टर कम्दीबाट बालुवा ल्याएर आएको रहेछ ।
चप्परगौडी लिने बालुवामाथि बसेका व्यक्तिले बताए । त्यसपछि अगाडि चालकसँगै बसेका व्यक्तिलाई सोध्दा बिलबुक लाइसेन्स सबै भएको बताए । पैसा खानको लागि त होला । पैसा भयो भने पनि राख्दिन्छ । नभए पनि राख्दिन्छ । त्यतिकैमा चालक आए । उनलाई सोध्दा भने, ‘बिलकुल राख्दियो । पैसा देउ भन्थ्यो । पैसा छैन अनि ।’
ती चालकले डबल लोड भएको भनेर पैसा मागेको र पैसा नहुँदा भोलि आउनु भन्दै बिलबुक आफूसँगै राखेर पठाइदिएको जानकारी दिए । उनीहरुका अनुसार प्रहरीले फाइन काट्ने भन्दै एक सयदेखि पाँच सय रुपैयाँसम्म माग्ने गरेको छ । तर, त्यसको न बिल हुन्छ न त अरु प्रमाण नै । लाइसेन्स भए पनि पैसा माग्ने गरेको स्थानीयहरुले बताए । उनीहरुले भने, ‘ह्या असुल्न पल्केका ।
सय, दुई सय तीन सय माग्छन् ।’ स्रोतका अनुसार चालकले आफ्नो बिलबुकमा हालेर ट्राफिकलाई पैसा दिने गरेका छन् । तपाईं यदी गाडीमा सवार गर्नू भएको छ भने एउटा दृष्य देख्नु भएको होला । त्यो दृष्य हो, ‘चालकबाट बिलबुक, लाइसेन्स मागेर ट्राफिक गाडीको ठीक पछाडि आउँछ ।’ जहाँ यात्रुले नदेखोस् भनेर । त्यहाँ उनीहरुले बिलबुकबाट पैसा लिन्छन् ।
यदी छैन भने बार्गेनिङ गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । मिसन टुडेलाई जानकारी आएअनुसार फिल्डमा खटिएका ट्राफिक प्रहरीले जिल्ला ट्राफिकको नेतृत्वलाई समेत पैसा बुझाउने गरेको आरोप लाग्छ । तर यसको बलियो प्रमाण भने भेटिँदैन ।
ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकखण्डमा पैसा असुली गर्ने क्रियाकलापले गर्दा हैरानी खेप्नु परेको चालकहरु बताउँछन् । ट्राफिक प्रहरीको प्रभावकारी काम नहुँदा पनि ट्राफिक व्यवस्थापनसमेत भद्रगोल हुने गरेको छ । स्थानीयहरुका अनुसार ट्राफिक व्यवस्थापनमा भन्दा पैसा असुलीमा ट्राफिकको ध्यान हुन्छ ।
हिमालय शाह
ट्राफिक प्रहरी निरीक्षक बाँके
कसैले आरोप लगाएको छ भने व्यक्तिगत कुरा होला । हामीले सेवा दिन्छौँ ।
सबैलाई समान न्याय दिन्छौँ । फाइन (जरिवाना) का नाममा रकम असुल्छन् भन्ने कुरा गलत हो । उनीहरु गलत छन् भने त कारबाही हुन्छ ।
हाम्रो उद्देश्य कसैलाई अनावश्यक दुःख दिने हुँदैन । कसैले व्यक्तिगत हिसाबमा भनेको होला । हामीले कसैलाई नियत राख्दैनौं । सबै कुरा नियमसँग नै हुन्छ ।
गलत गरेकालाई कारबाही गर्नु हाम्रो दायित्व हो । जसले तपाईलाई गुनासो गरे । यो नितान्त व्यक्तिगत कुरा हो जस्तो लाग्छ ।