ABC क्राईमबिट)
काठमाडौं । स्थानीय निर्वाचन नजिक आउंदै गर्दा नेपाल प्रहरीमा नयां नेतृत्वको चयन गर्ने तयारी सुरु भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित आधा दर्जन उच्च अधिकारीहरुले यही वैशाख १८ मा अनिवार्य अवकाश पाउंदैछन् । उनिसंगै उनका ब्याची एआईजीहरु हरि पाल, प्रधुम्न कार्की,निरज शाही र बसन्त पन्तलगायतले एकै दिन अनिवार्य अवकास पाउन लागेका हुन् । वैशाख ३० मा देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको बेला प्रहरी नेतृत्वको जिम्मेवारी कस्ले सम्हाल्छ भन्ने विषयले अहिले सबैतिर चर्चा पाएको छ । प्रहरी महानिरीक्षक थापाले आफु अवकास पाउनु एक साता अघि विदामा बस्न खोजेपनि त्यसमा गृहमन्त्रालयले उनलाई सिग्नल नदिएको बताइन्छ । थापाले नेतृत्व चयन गरेर आफुलाई बिदामा बस्न गृह नेतृत्वसंग आग्रह गरेपनि आईजीपी नियुक्तीमा अन्यौलता हुंदा उनी बिदामा भने बस्न पाएनन् । प्रहरी महानिरीक्षक नियुक्ती स्थानिय निकाय, प्रदेश र संघको चुनावसंग समेत जोडिएकोले निकट अधिकारीलाई पदमा ल्याउनेमा सरकारको जोड छ । तर, वरियता र विवाद हुने डरले अहिलेसम्म सरकारले कुनै निर्णय भने गर्न सकेको छैन । त्यसमाथि प्रहरीको आईजीपी नियुक्तीको विषय जहिले विवादस्पद बन्ने गरेको छ । अहिले प्रहरी महानिरिक्षकको लागि शक्तिकेन्द्रमा दौडधूप सुरु भइसकेको छ । महानिरीक्षकका दावेदारहरुले सबैप्रकारका हत्कण्डा सुरु गरेका छन् । अहिले नेतृत्वको लागि मुख्यगरी विश्व पोखरेल, धीरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकबीच प्रतिस्पर्धा छ । उनिहरु एकै दिन सेवा प्रवेश गरेका भएपनि एआईजी बढुवा हुंदा भने पोखरेल डेढ वर्षअघि एआईजी पदमा बढुवा भएका हुन् । पोखरेललाई तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिर २५ मा एआईजीमा बढुवा गरेको थियो । उनी एआईजी र डीआईजी दुवै पदमा बढुवा हुंदा एकल बढुवा भएकाले पनि उनका ब्याचका अरु अधिकारी उनिसंग रुष्ट छन् । वरियता र कार्यसम्पादनका हिसावले पोखरेल अरुभन्दा अघि समेत छन् । तर, राजनीतिक समिकरण बदलिएकाले उनको विकल्पमा सिंहलाई ल्याउने सम्भावना बढेको स्रोत बताउंछ । आईजीपी बढुवाका लागि एआईजी धानुक समेत प्रतिस्पर्धामा छन् । उनलाई विशेषगरी अर्थमन्त्री जनार्दन शर्मा र सुदुरपश्चिमका स्थानिय कांग्रेस नेताको समर्थन छ ।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीको दरबन्दी सिर्जना गर्दै सिंह,पन्त र धानुकलाई गत चैत ७ मा एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रहरीमा यसअघि पोखरेलको विकल्पमा गत असार २४ मा सहकुल थापालाई एआईजीमा बढुवा गरिएको थियो । त्यसमा तत्कालिन नेकपाका केही नेताहरुले पोखरेललाई रोकेर थापालाई आईजीपी बनाउन दरबन्दी थपेर एआईजी बनाएको चर्चा थियो । नेकपाको सरकार ढलेसंगै उनको सम्भावना समेत कमजोर बनिसकेको छ । तर, पोखरेलको हकमा भने सरकारलाई निर्णय गर्न त्यति सजिलो छैन । सुरक्षा निकायमा आफु निकट अधिकारीहरुलाई बढुवा गर्न दरबन्दी थप्ने प्रचलन भने नयां होईन । यसले प्रहरीभित्र राजनीतिक करण भइरहेको छ । अहिले पनि केही प्रहरी अधिकारीहरु एमालेको पालामा एआईजी भएको र कांग्रेसको पालामा आफु बढुवा भएको भन्दै आफु आईजीपी बन्न पाउनुपर्ने लविङमा लागेका छन् । यसबाट पनि प्रहरी संगठनभित्र कति राजनीति भइरहेको छ भन्ने प्रष्ट देखिन्छ । प्रहरीमा राजनीतिक नेतृत्वको नजिक नरहनेले अवसर पाउन कठिन भइरहेको प्रहरीकै अधिकारीहरुको भनाई छ । प्रहरीमा नेतृत्व कमजोर र सौदाबाजी गरेर बनैकै कारण सक्षम र काविल अफिसरहरु समेत राजनीतिक नेतृत्वको ढोका ढोकामा पुग्नुपर्ने अवस्था भएको प्रहरीका अधिकारीहरु नै बताउंछन् । प्रधानमन्त्री देउवाका कारण प्रहरीमा राजनीतिक हस्तक्षेपको सुरुवात भएको मान्नेहरु धेरै छन् । उनी पहिलो पटक गृहमन्त्री हुंदा प्रहरीमा ३० वर्षे सेवा हद लगाइएको थियो । पछी वरियतामा पछाडी रहेका जयबहादुर चन्दलाई पनि उनकै दबावमा आईजीपी बनाउंदा प्रहरीमा विवाद भएको थियो । सरकारको उक्त निर्णयविरुद्ध तत्कालिन डीआईजी नवराज सिलवाल सर्वोच्चसम्म पुगेका थिए । अहिले सत्तारुढ दलभित्र आईजीपी नियुक्तीको बारेमा नेताहरुबीच छलफल सुरु भएको स्रोतको दावी छ । कांग्रेसभित्र आईजीपी नियुक्तीको बारेमा दुई वटा लाइन देखा परेको छ । प्रधानमन्त्री देउवाले अहिलेसम्म त्यसमा मुख खोलेका छैनन् । तर, गृहमन्त्री बालकृष्ण खांड,संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेताहरु पूर्णबहादुर खड्का,कृष्ण सिटौला,गगन थापालगायत प्रहरीमा वरियता मिच्न नहुने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत चुनावको मुखमा आईजीपीको लागि लफडा गर्ने मुडमा छैनन् । तर,प्रधानमन्त्री पत्नी आरजु राणा र उनको परिवारका सदस्य र प्रधानमन्त्री देउवाको सचिवालयमा रहेकाहरु भने सिंहलाई नै आईजीपी बनाउनुपर्ने पक्षमा रहेको स्रोत बताउंछ । आईजीपी नियुक्ती शुक्रबारअघि नै टुंगो लगाउने तयारी भइरहेको छ ।‘प्रधानमन्त्रीले पार्टी र गठबन्धनका नेताहरुको सल्लाह मान्नुभयो भने पोखरेल नै आईजीपी बन्ने सम्भावना छ । तर, पत्नी आरजु र परिवारका अन्य सदस्यहरुको कुरा सुन्नुभयो भने सिंहको सम्भावना बढी देखिन्छ ।’ प्रधानमन्त्री निकट एक नेताले काठमाण्डुपाटीसंग भन्यो । सशस्त्र प्रहरीमा समेत वरियताका आधारमा देउवा नेतृत्वको सरकारले पुष्पराम केसीलाई आईजीपी बनाएको थियो । पछी वरियतामा एक नम्बरमा रहेका डीआईजी राजु अर्याललाई एआईजी बढुवा गरिएको थियो । जवकी दुई नम्बरमा रहेका डीआईजी नारायणदत्त पौडेललाई रिक्त एक पदमा ल्याउन कांग्रेस नेता पूर्णबाट खड्काले समेत निकै जोडबल गरेका थिए । नेपाल प्रहरीमा वरियतामा डेढ वर्षअघि रहेका पोखरेल आईजीपी नियुक्त नभए आगामी साउनभित्रै अवकासमा जानेछन् । यदी पोखरेल वा सिंहमध्ये एक जना आईजीपी नियुक्त भए भने पनि १० महिना २१ दिन आईजीपी पदमा बहाल रहनेछन् । त्यसपछी हाल एसएसपी रहेका सन्दिप भण्डारी,श्याम ज्ञवाली, उमेशराज राई र टेकप्रसाद राईमध्येबाटै एक जना प्रहरी प्रमुख बन्ने छन् ।