(महेन्द्र सिंह )
बाँके । नेपालगन्जबाट मोटरसाइकल चोरी गरेर अर्कै नम्बर प्लेट राखेर भाग्दै गरेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी बाँकेले एक जनालाई पक्राउ गरेको छ ।
बिहिवार साँझ ७ बजे नेपालगन्ज १८ कारकाँदोका विष्णु कँडेलको आफ्नै घरमा पार्किङ गरी राखेको भे १० प ८८९८ नम्बरको मोटरसाइकल चोरी भएको सूचना आए लगत्तै खोजतलासमा निगरानी बढाएको बाँके ट्राफिकको कोहलपुर चप्परगौडी अस्थायी ट्राफिक पोस्टले चेकजाँचका क्रममा गएराती पौने १० बजे नम्बर प्लेट परिवर्तन गरेर आउँदै गरेका एक जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् । 
ट्राफिक प्रहरीले कोहलपुर १२ का ३२ बर्षीय कर्ण बहादुर चन्दले मोटरसाइकलमा भे ७ प ९९५९ नम्बर प्लेट राखेर भाग्दै गरेको अवस्थामा नियन्त्रण लिएको हो । चेकजाँचका क्रममा चन्दसँग उक्त नम्बर अनुसारको मोटरसाइकलको कागजात नभएको पाइएपछि उक्त मोटरसाइकल चोरी भएको खुल्न आएको ट्राफिक प्रमुख शाहले बताए ।
नियन्त्रणमा लिएको उक्त मोटरसाइकल र चन्दलाई इलाका प्रहरी कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको शाहले जानकारी दिएका छन् ।