ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. सुजित कुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ ।
साह नेपाल एपिएफ अस्पताल बलम्बु, काठमाडौंमा दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।
उनी बैशाख १३ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।
साथै मन्त्रालयले साहलाई विभागीय कारबाही हुन नपर्ने कुनै कारण भए ७ दिनभित्र सफाइ पेस गर्न पनि निर्देशन दिएको छ ।