२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

हतारमा लुम्बिनी प्रदेश सभा दाङ नसार्न गृहमन्त्रीको मुख्यमन्त्रीलाई निर्देशन

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । स्थायी संरचना नबन्दै
लुम्बिनीको प्रदेशसभा र मन्त्रालयका कार्यालय स्थायी राजधानी दाङमा सार्न हतार गरेको सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसका नेताहरुले संरचना नबन्दै मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले एकलौटी रूपमा कार्यालय सार्न हतारो गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सभा बैठक दाङमा राख्नका लागि बुटवलस्थित प्रदेश सभाका सामानहरू ओसार्न थालेपछि यसप्रति गृहमन्त्री बालकृष्ण खाँण समेत रुष्ट भएका छन् । उनले मुख्यमन्त्री केसीलाई फोन गरेर प्रदेश सभा नसार्न र सामान नओसार्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले निर्देशन अटेर गरे चुनावमा टिकट नदिने चेतावनी समेत दिएको नेपाली काँग्रेसका एक नेताले जानकारी दिए ।

गठबन्धनभित्र असन्तुष्टि भएकाले गत भदौ १० गते प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटनमा दाङकै सहरी विकास मन्त्री डिल्ली चौधरी समेत अनुपस्थित भएका थिए । चुनावको मुखमा मुख्यमन्त्रीले विज्ञहरू नियुक्तिका नाममा माओवादी निकटलाई नियुक्ति दिन एकलौटी रूपमा निर्णयहरू गरेकोमा काँग्रेससँगै गठबन्धनका अन्य दलहरू पनि असन्तुष्ट छन् ।

मुख्यमन्त्री केसीले निर्वाचन अघि जसरी पनि स्थायी राजधानीमा प्रदेशसभा र केही मन्त्रालयका कार्यालयहरू सार्न कर्मचारीलाई दबाब दिन थालेपछि कर्मचारीहरू पनि असन्तुष्ट भएका छन् ।

दाङमा निर्माण भइरहेको प्रदेशसभाको भवनको काम पूरा हुन अझै ३ महिना लाग्ने प्रदेश सभाकै एक कर्मचारीले बताए। राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सभाको लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्ट्रक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले असोज मसान्तसम्मको म्याद दिएको छ । भवनमा फलसिलिङको काम बाँकी छ । एसि जडान गर्ने, फर्निचरको काम सुरु नै भएको छैन ।

राप्ती प्राविधिक शिक्षालयका कक्षाकोठाहरू खाली त छन् तर, त्यहाँ रंगरोगन र मन्त्रालय बस्न मिल्ने खालको बनाउन कम्तीमा पनि ३ महिना लाग्ने कर्मचारीहरू बताउँछन् ।

प्रदेश सभा भवनमा विद्युत् जडान हुन अझै २ महिना लाग्ने भएकाले बुटवलबाट जेनरेटर लगिएको छ ।

काँग्रेससँग छलफल नै नगरी, संरचना नबन्दै कार्यालय सार्न हतार गर्नुले राज्यलाई अनावश्यक आर्थिक भार थोपर्ने र कर्मचारीहरूमा थप असन्तुष्टि बढाउने नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।

प्रमुख विपक्षी नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता बैजनाथ चौधरीले संरचना नै नभएको ठाउँमा प्रदेशसभा र मन्त्रालयका कार्यालयहरू सार्न खोज्नु चुनावलाई प्रभावित गर्ने माओवादीको कुत्सित मनसाय भएको बताए ।
नेकपा एमालेको सरकारले स्थायी संरचना बनाएर मात्रै दाङमा मन्त्रालय र प्रदेशसभा लैजाने निर्णय गरेको चौधरीले स्मरण गरे ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले भने प्रदेश सभाले एक वर्षअघि नै गरेको निर्णयलाई कार्यान्वयन गर्नु गलत नहुने बताए । प्रदेश सरकारले निर्णय कार्यान्वयन गर्न मात्र खोजेको भन्दै यसर्लाइ गलत अर्थ नलगाउन उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!