२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपालको ऋण २० खर्ब नाघ्यो सरकारले के गर्छ अब ऋण तिर्न

Logo
प्रकाशित शुक्रबार, भाद्र १७, २०७९


(ABC-Sanchar)
काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा यो ऋण करिब तीन खर्ब रुपियाँले बढी हो । आव २०७७÷७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपियाँ थियो । ऋणको आकार बढ्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ ।

कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४१.४७ प्रतिशत पुगेको छ । यस्तो अनुपात अघिल्लो आर्थिक वर्ष ४०.७२ प्रतिशत मात्र थियो । सार्वजनिक ऋणको आकारलाई जनसङ्ख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब ६९ हजार रुपियाँ पुगेको छ ।

तिरियो एक खर्ब १७ अर्ब

सार्वजनिक ऋण लिएबापत नेपालले गत आर्थिक वर्ष एक खर्ब १७ अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । यसमा साँवा र ब्याज दुवै जोडिएको छ । कार्यालयका अनुसार आव २०७८/७९ मा नेपालले ७२ अर्ब ८० करोड रुपियाँ साँवा र ४४ अर्ब ६१ करोड रुपियाँ ब्याज भुक्तानी भएको हो ।

त्यस्तै ऋणको भुक्तानी प्रवृत्ति हेर्दा नेपालले बाह्य ऋणबापत साँवा भुक्तानीलाई बढी जोड दिएको पाइन्छ । त्यस्तै आन्तरिक ऋणबापतको ब्याज भुक्तानीमा बढी खर्च भएको देखिन्छ । यसै अवधिमा नेपालले चार करोड १० लाख रुपियाँ जरिवाना तिर्नुपरेको छ ।

तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरेबापत उक्त जरिवाना तिर्नुपरेको देखिन्छ । यद्यपि तोकिएको समयमै साँवा ब्याज भुक्तानी गर्नेमा नेपालको स्थिति तुलनात्मक रूपमा राम्रो छ ।
तीन महिनामै डेढ खर्ब ऋण

कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै नेपालले एक खर्ब ६६ अर्ब रुपियाँभन्दा बढी ऋण लिएको छ । आव २०७८/७९ को चौथो त्रैमासिकमा लिइएको उक्त ऋणमध्ये ४० अर्ब ३३ करोड रुपियाँ बाह्य ऋण रहेको छ ।

बाह्य ऋण डलरमा भुक्तानी हुने र डलरको भाउ उच्च रूपले बढ्दा नेपालले तिर्नुपर्ने ऋणको भार पनि बढेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसरी विनिमय दरमा भएको वृद्धिले मात्र उक्त त्रैमासिकमा नेपालले २२ अर्ब सात करोड रुपियाँ घाटा बेहोर्नुपर्ने देखिन्छ, जसले गर्दा ४० अर्ब रुपियाँको बाह्य ऋणको भार ५३ अर्ब रुपियाँ नाघेको छ ।

यो ऋणमा नेपालले उक्त अवधिमा तिरेको नौ अर्ब २२ करोड रुपियाँ साँवा भुक्तानी कटाइएको छ । त्यस्तै चौथो त्रैमासिकमा नेपालले एक खर्ब २५ अर्ब ८२ करोड रुपियाँ आन्तरिक ऋण उठाएको छ ।

सो अवधिमा आन्तरिक ऋणबापत नेपालले १८ अर्ब रुपियाँ ब्याज भुक्तानी गरेको छ । कुल आन्तरिक ऋणमा ब्याज घटाउँदा उक्त अवधिमा एक खर्ब छ अर्ब ९५ करोड रुपियाँ आन्तरिक ऋण कायम भएको छ ।

बहुपक्षीय निकायबाट धेरै

सोही अवधिमा नेपालले बहुपक्षीय निकायहरूबाट ३७ अर्ब ४३ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय निकायबाट भने दुई अर्ब ८९ करोड रुपियाँ मात्र ऋण लिएको देखिन्छ ।

चौथो त्रैमासिक आर्थिक वर्षको अन्तिममा पनि पर्ने भएकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण बढी उपयोग गरिएको देखिएको छ ।
उक्त अवधिमा सरकारले आन्तरिकतर्फ ५३ अर्ब ९१ करोड रुपियाँ ट्रेजरी बिलबाट र विकास बन्डबाट ७१ अर्ब ९० करोड रुपियाँ ऋण उठाएको छ । गाेरखा-पत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!