२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बाँकेमा मानव बेचबिखनका घटना धेरै

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९


(ABC-Sanchar)
बाँके । मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।

नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन् ।

मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँ कतै समस्या हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए ।

“गैरसरकारी संस्थाले सोंचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्’, उनले भने, ‘राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घ संस्थाले सहयोग गरिरहेका छन् ।’

मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिला उद्धार गर्न सकिरहेका छैनन् । सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको अधिवक्ता पदम पाण्डे बताउछन् ।

‘मानव बेचविखनको क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढेको बढ्यै छ, तर बेचविखनका घटना घटेका छैनन्’, सेलर्डमा मानव बेचविखनविरुद्धको परियोजना संयोजक भएर काम गरिसक्नुभएका अधिवक्ता पाण्डेले भने, ‘अब हामीले गर्दै आएको तौरतरिका र काम कारबाहीमा परिवर्तन गर्नेतर्फ सोंच्नुपर्ने भएको छ ।’

वैदेशिक रोजगारका नाममा महिलालाई सीमा कटाएर लैजाने र बेचविखन गर्ने गरेको पाइए पनि दलालविरुद्धका मुद्दा कमजोर हुने र पीडितले बयान फेर्ने समस्यालाई हल गर्न अब मुद्दा नै वैदेशिक रोजगारअनुसार दर्ता गर्नुपर्ने पाण्डेको सुझाव छ । माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै सात सय १२ निवेदन परेका छन् । ती निवेदनमध्ये दुई सय ८५ जना फेला परेका छन् ।

यो अवधिमा माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका छ सय २७ जनाको नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिए । सङ्घ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका तथा बेचिन लागेको आशङ्का लागेका सयौँको उद्धार हुँदै आए पनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् ।

पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनःस्थापना गृह बाँकेका कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए । उनका अनुसार मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाइएको छ ।

शान्ति पुनःस्थापना गृह बाँकेले बाँकेका चार नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा जोखिमपूर्ण यात्रामा रहेका दुई सय ४६ जनाको उद्धार गरेको छ । भारत पुगेर छ जना नेपालीको उद्धार गरी नेपाल फर्काएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए ।

मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनःस्थापन गृहले सीमामा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिरहेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

दाङ । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए। चैत २३ गते घोराहीमा बसेको एमाले जिल्ला कमिटीको बैठकले पार्टीका महासचिव तथा दाङ […]

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

error: Content is protected !!