०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

एमालेको समर्थन बिना महाअभियोग पास नहुने चोलेन्द्र शमशेर जबरा सर्वोच्चमा फेरि आउने

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

(ABC-Sanchar)
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छानबिन गरिरहेको सिफारिस समितिले ५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्छ। तर, समितिले जबरासँगको बयान लिने काम नै सकेको छैन। जबरामाथि लगाइएका आरोपहरूको प्रमाण संकलन गर्ने, सम्पत्ति विवरण माग्ने र प्रतिवेदन लेख्ने कामको थालनी नै गरेको छैन।

प्रतिनिधिसभाको कार्यकाल असोज १ गते समाप्त हुँदैछ। त्यसैले ११ सदस्यीय सिफारिस समितिलाई भदौ मसान्तभित्र प्रतिवेदन तयार पार्नुपर्ने ‘दबाब’ छ। समिति सदस्य एवं एमाले सांसद कृष्णभक्त पोखरेल भन्छन्, ‘५ दिनभित्र काम सक्न कठिन छ। तर, हामी प्रयत्नरत छौं।’

समितिले जबरामाथि महाभियोग लाग्ने/नलाग्ने भन्ने विषयको टुंगो नै नलगाई प्रतिनिधिसभाको कार्यकाल समाप्त भए महाभियोग प्रस्ताव नै ‘जीवित रहने वा निष्क्रिय हुने’ भन्नेमा दुईथरी मत देखा परेका छन्। महाभियोग ‘निष्क्रिय’ हुन्छ भन्ने मान्यता राखियो भने असोज २ देखि नै जबरा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा फर्केलान त ? भन्ने जिज्ञासा पैदा भएका छन्।

अर्थात् असोज २ देखि प्रधानन्यायाधीशको ‘हैसियत’ मा जबरा सर्वोच्च पुगे स्थिति के होला भन्ने पनि विश्लेषण गर्न थालेका छन्। तर, यसरी ‘फर्के पनि’ जबरालाई काम गर्न भने ‘सहज’ अवस्था छैन। कानुन व्यवसायीको छाता संगठन नेपाल बार र सहकर्मी न्यायाधीशहरूले जबरा फर्केपछि ‘स्वीकार’ नगर्ने सार्वजनिक रूपमै घोषणा गरिसकेका छन्। यस्तोमा तीनवटा परिदृश्य देखा परेका छन्।

पहिलो : जबरालाई प्रधानन्यायाधीशमा फर्किन दिने। दोस्रो : फर्किन त दिने, तर केही समयपछि राजीनामा गर्न लगाउने। तेस्रो : अदालतकै मुख ताक्ने।

फर्किने विकल्प
संसद्मा अब ५ दिनभित्र जबराविरुद्ध महाभियोग प्रस्ताव अघि बढ्ने सम्भावना न्यून छ। अघि बढी हाले पनि दुईतिहाइबाट पारित हुने सम्भावना पनि उत्तिकै कम छ। किनभने, संसद्को अंकगणित यस्तो छ कि, एमालेबिना महाभियोग प्रस्तावका पक्षमा दुईतिहाइ पुग्दैन। एमाले राणालाई मात्रै महाभियोग लगाउन नहुने भन्दै सुरुदेखि नै विपक्षमा छ। त्यसैले, निर्णय नगर्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भए महाभियोग निष्क्रिय हुने एकथरी संविधानविद्हरूको तर्क छ।

‘यो अधिवेशनबाट परिणाम ननिस्के महाभियोग प्रस्ताव स्वतः निष्क्रिय हुन्छ,’ संविधानविद् डा. विपीन अधिकारीले भने, ‘कुनै पनि प्रस्तावहरू एक अधिवेशनबाट अर्को अधिवेशनमा सर्न सक्छन्। तर, एउटा प्रतिनिधिसभाबाट अर्को प्रतिनिधिसभामा सर्न सक्दैनन्। यो संसदीय पद्धति हो।’ जुन प्रस्तावक, सांसद, छानबिन गरिरहेको समितिकै कार्यकाल समाप्त भइसकेपछि महाभियोग प्रस्ताव मात्रै जीवित रहन नसक्ने अधिकारीको तर्क छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन्। ४ जना पदमुक्त छन्। दुईतिहाइका लागि १ सय ८१ को संख्या आवश्यक हुन्छ। एमाले बाहेक सबै दल मिल्दा पनि १ सय ७० मात्रै पुग्छ। ११ जना अपुग हुन्छन्। त्यसैले एमालेको समर्थनबिना महाभियोग प्रस्ताव पारित हुन सक्दैन।

अर्का संविधानविद् डा.भीमार्जुन आचार्य भने प्रतिनिधिसभाको कार्यकाल समाप्त भए पनि महाभियोग निष्क्रिय नहुने तर्क गर्छन्। ‘प्रतिनिधिसभाको कार्यकाल समाप्त भयो भने विधेयकहरू निष्क्रिय हुन्छन्,’ डा. आचार्यले भने, ‘तर महाभियोग त्यसरी निष्क्रिय हुन्न। संसद्मा बसिरहन्छ। जुन व्यक्तिविरुद्ध महाभियोग लागेको छ, उसको कार्यकाल समाप्त नभए नयाँ प्रतिनिधिसभाले त्यसलाई अघि बढाउँछ।’

संविधानविद् एवं राष्ट्रियसभाका पूर्वसांसद रामनारायण बिडारी पनि महाभियोग प्रस्ताव नयाँ प्रतिनिधिसभामा सर्ने दाबी गर्छन्। ‘महाभियोग प्रस्ताव भनेको फौजदारी संहिताभित्र पर्छ,’ बिडारीले भने, ‘जुन पदाधिकारीविरुद्ध महाभियोगको प्रस्ताव छ, उसको कार्यकाल बाँकी रहेसम्म महाभियोग जीवित रहन्छ। यो प्रतिनिधिसभाको कार्यकाल सकिए पनि अर्कोले छानबिन गरी निर्णय गर्न सक्छ।’
फेरि अदालत नै पर्खने
असोज १ पछि महाभियोग प्रस्ताव जीवित रहने वा निष्क्रिय हुने भन्ने विवादको निरुपण सर्वोच्चबाटै गराउनुपर्ने केही संविधानविद्हरूको भनाइ छ। तर, यससँग ‘स्वार्थ’ जोडिएकै पक्षका न्यायाधीशबाट निरुपण गर्नुपर्ने अवस्था छ।

जसले दर्ता गर्‍यो, उसैले ढिला गर्‍यो
सत्तासीन कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले फागुन १ गते जबराविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता गरे। जबरा निलम्बनमा परे। तर, सत्तापक्षले नै लामो समयसम्म उक्त प्रस्तावलाई अलमल गरेर अडकाई रह्यो।

फागुन २२ गते मात्रै सिफारिस समिति गठन गरियो। समितिलाई पनि लामो समयसम्म कामविहीन बनाएर राखियो। भदौ १ गते मात्रै समितिमा महाभियोग प्रस्ताव पठाइयो। ‘संविधानको व्यवस्थाअनुसार महाभियोगमाथि अध्ययन गर्न तीन महिनाको समय तोकिएको छ,’ समिति सदस्य एवं एमाले सांसद पोखरेलले भने, ‘हामीलाई त एक महिनाको मात्रै समय दिइयो। त्यसैले समय नै अपुग भएको महसुस गरिरहेका छौं।’

११ जना नपुगेपछि सत्ता पक्षलाई गाह्रो
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन्। ४ जना पदमुक्त छन्। दुईतिहाइका लागि १ सय ८१ को संख्या आवश्यक हुन्छ। एमाले बाहेक सबै दल मिल्दा पनि १ सय ७० मात्रै पुग्छ। ११ जना अपुग हुन्छन्। त्यसैले एमालेको समर्थनबिना महाभियोग प्रस्ताव पारित हुन सक्दैन। एक जना निलम्बितसहित एमालेका ९८ जना सांसद छन। कांग्रेसका ६३ (२ जना निलम्बित) छन्।

माओवादी केन्द्रका ४९ जना छन्। नेकपा (एकीकृत समाजवादी) २३, जनता समाजवादी पार्टीका २१ (२ निलम्बन), लोकतान्त्रिक समाजवादी पार्टीका १३ सांसद छन्। राष्ट्रिय जनमोर्चा नेपाल, राप्रपा र नेमकिपाको १/१ जना छन्।

महाभियोग नलागे के हुन्छ ?

जबराका लागि महाभियोग प्रस्ताव पदसँग मात्रै जोडिएको छैन। सामाजिक प्रतिष्ठा र कलंकको ‘भारी’ पनि बोक्नुपर्छ। मुलुककै इतिहासमा पहिलो ‘महाभियोग’ लागेको भन्ने कलंको भारी उनले बोक्नुपर्ने
छैन। त्यस्तै महाभियोग नलागे उनले निवृत्त भएपछि पनि प्रधानन्यायाधीशको सेवा सुविधा पाउने छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!