*काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे भएको भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित र प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीबारे छलफल भएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए। उक्त वार्तामा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल भएको थियो।
भ्रमणका क्रममा मिश्रीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटवार्तामा हवाई, रेल, सडक तथा पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार सहजीकरण, विकास सहकार्य र ऊर्जा क्षेत्रको साझेदारीलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहसँगको भेटमा मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ध्यानमा राखेर विदेश सचिव मिश्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको बताइएको छ।
प्रधानमन्त्रीसँगको भेटवार्ता सकेर मिश्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।