
(ABC-Sanchar)
काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । घरबासबिहीन नागरिकलाई घरबासको व्यबस्था गर्न पनि उनले माग गरेका छन् ।
थापाथलीस्थित सुकुम्वासी बस्तीमा मंगलवार काठमाडौं महानगरले डोजर चलाएको विरोधमा बुधवार विज्ञप्ति जारी गर्दै गौतमले सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय काम भएको बताएका हुुन् ।
हिजो मंसिर १२ गते काठमाडौं महानगरपालिका प्रशासनले थापाथलीस्थित बागमती किनारामा बसेका सुकुम्बासी बस्तीमा घरबासको विकल्पविनै डोजर चलाएर त्यहाँ रहेका बासिन्दालाई चिहिलविहील बनाएको छ । नेपाल राष्ट्रभित्र यसरी बसोबास गर्ने सुकुम्वासीको संख्या २० लाखभन्दा धेरै रहेको छ । सुकुम्बासी समस्या राष्ट्रिय समस्या हो । अझ भन्ने हो भने यो समस्या संसारभरिको समस्या हो । विकसित मुलुकहरुमा पनि यो समस्या देख्न सकिन्छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जबसम्म निशुल्क घरबास र रोजगारीको सुनिश्चितता गरिँदैन तबसम्म समाजमा यो समस्या सिर्जना भइरहने छ । नेपालको संविधानले समाजवादी समाजको परिकल्पना गरेको छ । समाजवादमा पुग्नका लागि सुकुम्वासी बस्तीमा डोजर लगाउनुपर्छ र ? यो अमानवीय कार्य हो र संविधानविरोधी काम पनि हो ।’
पूर्वउपपप्रधामनन्त्रीसमेत रहेका गौतमले स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म गरेको भन्दै सरकारप्रति आक्रोश जनाएका छन् । ‘नेपाल सरकारसँग मिलेर यसको स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म बहुलट्ठीपूर्ण रहेको छ । यस्तो खाले काम जस्ले गरे पनि विरोध र भत्सर्नायोग्य रहेको छ । म यस्तो कृयाकलापको विरोध र भत्र्सना पनि गर्दछु’, गौतमले भनेका छन् ।