२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

लुम्बिनी प्रदेशमा स्वतन्त्र र साना दललाई मिलाएर एमालेले सरकार बनाउन सक्ने सम्भाबना

Logo
प्रकाशित बिहिबार, मंसिर २२, २०७९

(ABC-Sanchar)
बुटवल । लुम्बिनीको प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र दुवैतर्फको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । त्यस्तै, कांग्रेस दोस्रो दल बन्दा माओवादी केन्द्र तेस्रो दल बनेको छ ।
लुम्बिनीमा प्रत्यक्षतर्फ आठ दलले जित निकालेका छन् भने समानुपातिकतर्फ १० दलले सिट पाउने भएका छन् । प्रदेशसभामा तीन जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्वतन्त्र रूपमा निर्वाचित भएकामध्ये एक जना माओवादी केन्द्रबाट टिकट नपाएर बागी उठेका हुन् । उनी माओवादीमै फर्कने सम्भावना रहेको नेताहरूले बताएका छन् ।
लुम्बिनी प्रदेशसभामा कुन दलले कति सिट पाए ?
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी कुल ८७ सिट छ । त्यसमध्ये विभिन्न दलहरूले दुवैतर्फ गरी पाएको सिट संख्या यस्तो छः
नेकपा एमाले- प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ११ गरी जम्मा २९
नेपाली कांग्रेस- प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी जम्मा २७
माओवादी केन्द्र- प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ४ गरी जम्मा ९
राप्रपा- प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ २ गरी जम्मा ४
नागरिक उन्मुक्ति पार्टी- प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ २ गरी जम्मा ४
जनमत पार्टी- प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी जम्मा ३
जसपा- प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ १ गरी जम्मा ३
लोसपा- प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ १ गरी जम्मा ३
जनमोर्चा- प्रत्यक्षतर्फ शून्य र समानुपातिकतर्फ १ गरी जम्मा १
नेकपा एस- प्रत्यक्षतर्फ शून्य र समानुपातिकतर्फ १ गरी जम्मा १
प्रत्यक्षतर्फ निर्वाचित भएका स्वतन्त्र उम्मेदवार ३ जना
कस्तो बन्ला गठबन्धन ?
कुल ८७ सदस्यीय प्रदेशसभामा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेका छैनन् । बहुमत पुर्‍याउन न्यूनतम ४४ सिट आवश्यक हुन्छ । तर, कांग्रेस र एमाले नेतृत्वका दुई गठबन्धनमध्ये कुनैले पनि बहुमत पुर्‍याउन सक्ने स्थिति देखिएको छैन । जसका कारण लुम्बिनीमा सरकार निर्माण गर्ने विषय पेचिलो बन्ने देखिएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले कुल ४१ सिट पाएका छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमोर्चा र लोसपाले पाएको कुल सिट जोड्दा पनि गठबन्धनलाई बहुमत पुर्‍याउन ७ सांसद अपुग हुन्छन् । त्यसको जोहो गर्न गठबन्धनका नेताहरू सक्रिय हुन थालेका छन् ।

अर्कातर्फ चुनावी तालमेल गरेका एमाले, जसपा र राप्रपाले कुल ३६ सिट पाएका छन् । उनीहरूलाई सरकार बनाउन थप १२ सांसद जुटाउनुपर्ने अवस्था छ ।
दुवै गठबन्धनले बहुमत पुर्‍याउन नसकेको अवस्थामा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ । दुवै पक्षले सरकार गठनको आन्तरिक तयारी गरेका छन् । तर, निर्णायक भनिएका यी पार्टीहरूले सरकार गठनका सम्बन्धमा स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् ।
अर्कातर्फ केन्द्रमा कस्तो गठबन्धन बन्छ त्यसैका आधारमा लुम्बिनीमा गठबन्धन बन्ने देखिएको छ । यसको सोझो अर्थ के हो भने संघीय सरकार कसरी बन्छ, त्यसले लुम्बिनीको सरकार कस्तो बन्छ भन्ने तस्वीर दिने देखिन्छ । तर, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदसमेतलाई विश्वासमा लिएर सत्ता गठबन्धनले बहुमत जुटाउने धेरैको अपेक्षा छ ।
को-को छन् मुख्यमन्त्रीको दौडमा ?
कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दलका नेताहरू मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन् । त्यसको लागि नेताहरूले आन्तरिक तयारी र लबिङ सुरु गरिसकेका छन् ।
एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए लीला गिरी मुख्यमन्त्री बन्ने सम्भवना बढी छ । एमालेले गिरीलाई बनाउने गरी चुनावी मैदानमा उतारेको थियो । गिरीले सहजै जित निकाले । एमालेको नेतृत्वमा सरकार बनेमा उनै मुख्यमन्त्री बन्ने एमालेले जनाएको छ ।
तर, शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेका गिरी सबैभन्दा कम कार्यसम्पादन गर्ने मन्त्रीको रूपमा रहेका थिए । सात जना मन्त्रीमा उनको नाम सातौँ स्थानमा थियो । गिरी विष्णु पौडेलनिकट छन् । उनीसँगै अघिल्लो कार्यकालमा नेकपा एमाले संसदीय दल लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीका लागि दाबेदार छन् । शंकर पोखरेलको टिमबाट ढकाललाई मुख्यमन्त्रीको रूपमा बल पुग्नेछ ।
कांग्रेसले मुख्यमन्त्री पाएमा कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक र पूर्वप्रदेशमन्त्री डिल्ली चौधरीमध्ये एक मुख्यमन्त्रीको दाबेदार रहनेछन् । यसमा रज्जाकको सम्भावना बलियो छ । यहाँ मुख्यमन्त्रीका प्रमुख दाबेदार रहेका कांग्रेस लुम्बिनी सभापति अमर पुन पराजित भएसँगै रज्जाकको सम्भावना बलियो बनेको हो ।
यस्तै, माओवादीले मुख्यमन्त्री पाएको खण्डमा रोल्पा १ (१) बाट विजयी भएका जोख बहादुर महरा मुख्यमन्त्री बन्ने सम्भावना बढी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!