०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

पर्सामा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, पुष ०६, २०७९

पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्।

उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरेको हो। दाजुभाइ कुशल र भरत दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ।

प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो। खबरपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेको थियो।

रिंकुकुमारी घरअगाडिकै कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन्। टाउको किचिएको अवस्थामा शव फेला परेको थियो। त्यसरी शव फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए।

त्यहाँ हामीलाई जनप्रतिनिधिले जानकारी दिएका थिए। त्यसपछि टोली खटाएका थियौं,’ डिएसपी गिरीले भने।

सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो। धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो होला भन्नेबारे पनि चासो प्रहरीको थियो।

उनका श्रीमान कुशललाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए। तर प्रहरीले शव हेर्दा हातमा करेन्ट लागेको पनि देखेको डिएसपी गिरीले बताए।

‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’

यी प्रमाणहरू पेस गरी सोधपुछ गर्दा भने उनले हत्या गरेको स्वीकार गरेका डिएसपी गिरीले बताए।

उनका अनुसार कुशलले आफ्नै कोठामा श्रीमती रिंकुलाई करेन्ट लगाएर हत्या गरेका हुन्। यसरी हत्या गर्नेबारे उनले पूर्वयोजना बनाएको समेत प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

कुशलले रिंकु परपुरूषसँग लागेको भन्ने शंका गर्थे। त्यही शंकाले उनीहरूबीचको सम्बन्ध बिग्रिएको देखिएको छ। उनीहरू घरमा पनि अलग अलग बस्थे। मंगलबार मध्यराति भने रिंकुलाई आफू भएको ठाउँमा बोलाएर कुशलले हत्या गरेका हुन्।

हत्यापछि उनले उक्त शवलाई यत्तिकै राखेनन्। शव व्यवस्थापन गर्न र आफू हत्याबाट जोगिन भाइ भरतको सहयोग मागे। दाजुभाइ दुवै जना सवारी चालक हुन्। कुशल ठूला सवारीसाधन चलाउँछन् भने भाइ कुखुरा बोक्ने सानो गाडी चलाउँछन्।

उनीहरूले सर-सल्लाह गरी भरतले चलाउने ना. ३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर शव सडकमा निकाली गाडीले टाउकोमा किचेको डिएसपी गिरीले बताए।

त्यसपछि गाडी वीरगन्ज-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाएर राखेका थिए।

‘यसरी हत्यापछि पनि गाडीले किच्दा आफूहरू बचिन्छ कि भन्ने सोचेछन्। गाडी पनि फेला पर्दैन। कसले हिर्काएको पनि थाहा नहुने भन्ने बुझेर हत्यापछि किचेको देखियो,’ डिएसपी गिरीले भने।

शवको पोस्टमर्टम गर्न नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा सरूवा भई जान लाग्नुभएका प्रहरी निरीक्षक पावल सिंह लामा लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एक कार्यक्रमकोबीच विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरूवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक पावल सिंह लामालाई मायाको […]

ABC (क्राईमबिट) काठमाडौं । उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना हुन्डी कारोबारी हुन सक्ने काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए !!

ABC (क्राईमबिट) पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले आज नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी गण पोखरा, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा र गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखा समेतको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक सिंहले सम्पूर्ण कार्यालयहरुको भौतिक संरचना, […]