२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

भ्रष्टाचार मुद्दामा आयुक्त जयबहादुरका आफन्त तेजबहादुरलाई उन्मुक्ति किन ? अख्तियार सेटिङदेखि राजनीति कनेक्सन

Logo
प्रकाशित बिहिबार, भाद्र १४, २०८०


(ABC-Sanchar)
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ गरिएको पाइएको छ। कञ्चनपुरकोस्थित भीमदत्त नगरपालिकाको भ्रष्टाचार मुद्दामा अख्तियार भित्रकै मान्छेको इन्ट्रेस्टमा सेटिङ गरिएको पाइएको हो। अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ तेजबहादुर चन्द (ठेक्का सम्झौतामा हस्ताक्षर गर्ने) लाई उन्मुक्ति दिएर मुद्दा नचलाएपछि सो सेटिङ सतहमा आएको हो।

अख्तियारको सुदूरपश्चिमस्थित कार्यालयले मुद्दा चलाउनुपर्ने बताए पनी केन्द्रीय कार्यालयले मुद्दा नचलाएको बताइन्छ।यसले गर्दा अख्तियारकै औचित्यमाथि पनि प्रश्न उठेको छ। हिजो (मंगलबार) मात्रै आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

२०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो। सोही उजुरीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग तत्कालीन नगरप्रमुखसहितका १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायसहित ५ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलको सिफारिसका आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाइ चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले तत्कालीन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालयसिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्रदेव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ। यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्सन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको
नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

तर, सो मुद्दाका एक मुख्य बलिया प्रतिवादीलाई भने उन्मुक्ति दिइएको तथ्य फेला परेको छ। कम्पनीको तर्फबाट सो आर्थिक वर्षको ठेक्का सम्झौता गर्ने प्रतिनिधि समेत बनेका तेजबहादुर चन्दलाई उन्मुक्ति दिइएको खुलेको हो। पहुँचका भरमा चन्दलाई अख्तियारले मुद्दा नै नचलाएको आरोप लागेको छ। स्वर्गीय इश्वरीदत्त भट्ट संचालक रहेको भवानी कन्स्ट्रक्सनको पछिल्लो समय उनकी पत्नी खगेश्वरी भट्ट अंशीयार छिन्।

सोही कम्पनीबाट आर्थिक वर्ष २०७६/०७७ मा चन्दले भीमदत्त नगरपालिकासँग नदीजन्य वस्तुको ठेक्का सम्झौता गरेका थिए। सो सम्झौता गर्ने बेला नगरपालिकाका तर्फबाट भने तत्कालीन निमित्त हाकिम हरिदत्त जोशीले हस्ताक्षर गरेका थिए। त्यसपछिको आर्थिक वर्षको ठेक्काको पनि अख्तियारले मुद्दा दायर गरेकोमा सो मुद्दामा भने कम्पनीका तर्फबाट प्रतिनिधि बसेका दिवाकर भट्टलाई मुद्दा लगाइएको छ। तर, अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्झौता गर्ने चन्दलाई भने मुद्दा लगाइएको छैन।
यहीँबाट अख्तियारमा पनि सेटिङ गरिएको र पहुँचका आधारमा उन्मुक्ति पाएको देखिन्छ। स्रोतका अनुसार ती चन्द अख्तियारकै आयुक्त जयबहादुर चन्दका निकटस्थ एवं आफन्त हुन्। आयुक्तका व्यापारिक साझेदारसमेत रहेका तेजबहादुरले आयुक्त चन्दकी श्रीमती मिरा चन्दसँगको साझेदारीमा व्यापार गर्ने गरेका छन्।

सो व्यापार, व्यवसायमा जयबहादुरको पनि हक (लगानी) रहेको बताइन्छ। यस्तै तेजबहादुरको अर्को पोलिटिकल कनेक्सन पनि देखिएको छ। उनको सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूसँग हिमचिम रहेको पाइएको छ। यतिमात्र होईन, अस्ति काठमाडौंस्थित टुडिखेलमा गौराको अवसरमा भएको देउडा खेलेमा उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरीसँगै कुम जोडिएको दृश्य भेटिएको छ। प्रचण्ड पुत्री गङ्गा दाहालसंग पनि चन्दको कनेक्सन प्रष्ट भएको छ।
यसका अलावा तेजबहादुरको कञ्चनपुरकै एक बस्तीभित्र क्रसर उद्योग समेत रहेको बताइन्छ। सो क्रसर खोल्दा पनि तत्कालीन वेदकोट नगरपालिकाका मेयर अशोकबहादुर चन्दले वडानम्बर ७ को सुन्दरपुर बस्तीको बीचमा क्रसर खोल्न अवैध अनुमती दिएको स्रोतको दाबी छ। त्यो बेला वातावरणीय प्रभाव मूल्यांकन नगरिकन सेटिङमा मेयर चन्दले तेजबहादुरलाई क्रसर चलाउन अनुमती दिएका थिए।

सो क्रसरमा पनि अख्तियारका आयुक्त जयबहादुरको लगानी रहेको आरोप छ। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले भने यी कुराहरु आफूलाई थाहा नभएको जानकारी दिए। अनुसन्धान अधिकृतहरुले अनुसन्धान गरेको विषय भएको भन्दै उनले चन्दलाई किन मुद्दा चलाइएन ? भन्ने विषय आफूलाई थाहा नभएको बताए।महेन्द्रनगर पोस्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]