(एबिसि संचार )
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रूपन्देहीका उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।
निर्माण सम्पन्न भएर उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान सुरू हुन नसकेको भन्दै उद्योगी व्यवसायीहरू दबाबमूलक सडक आन्दोलनमा उत्रिएका हुन्।
रूपन्देहीका ३२ वटा संघसंस्थाहरूको साझा सञ्जाल सिद्धार्थ सञ्जाल रूपन्देहीले नेतृत्व गरेको सडक आन्दोलनमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान समेत सहभागी हुँदै उद्योगी व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एक वर्षसम्म सरकारलाई आग्रह गर्दै र पछिल्लो एक महिनायता विभिन्न कार्यक्रममार्फत् सचेत गराउँदै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै सडक आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए।विमानस्थल सञ्चालनको माग गर्दै शुक्रबार बिहान भैरहवाको देवकोटा चोकबाट निकालिएको विरोध प्रदर्शन सहितको र्याली बैंकरोड, मिलनचोक र नारायणपथ हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोण सभामा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले संघीय सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सक्दैन भने प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालन गर्ने बताए।
केन्द्रीय सत्ता र शक्तिमा रहेकाहरूले आन्दोलन नगरेसम्म र शक्ति प्रदर्शन नगरेसम्म जनताका माग सुनुवाइ नगर्ने उल्लेख गर्दै गृहमन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आफू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए।(रास्स)