(एबिसि संचार )
बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार नगरपालिकाको नगर सभा नभएको र कर्मचारीहरूले ६ महिनादेखि तलब पाएका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत पनि नहुँदा कर्मचारीहरुले तलब पाउन नसकेको हो। बुधबार भने नयाँ अधिकृत उपस्थित भएका थिए। कर्मचारीहरूले तलब नपाएको भन्दै लामो समयदेखि नगर परिसरमा धर्ना दिइरहेका थिए।
बुधबार नगरपालिकामा मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रदर्शनरत कर्मचारीहरूले मेयरको गाडीमा तोडफोड गरेका थिए।
मेयर र अधिकृत भागेर कोठामा प्रवेश गरेको र त्यसपछि प्रहरी र आन्दोलनरत व्यक्तिहरूबीच झडपको स्थिति बनेको प्रमुख जिल्ला अधिकारी बताए।