(एबिसि संचार )
काठमाडौं मेडिकल कलेजको दाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बिहीबार काठमाडौंबाट गएका १९ जना विशेषज्ञ डाक्टरसहितको टोलीले दाङको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्।
बालरोग, हाडजोर्नी, नशा, आँखा, नाक, कान, घाँटी, न्यूरो, डेण्टल, स्त्रीरोगसम्बन्धी विशेषज्ञ डाक्टरका टोली शिविरमा पुगेका छन्। उनीहरूले बिरामीको चेकजाँच गरी सल्लाह-सुझावका साथै निःशुल्क औषधि दिएका छन्।
शिविरमा जाँच गराएका कुनै बिरामीको अपरेसन गर्नुपरे सो पनि निःशुल्क गरिदिने मेडिकल संचालक तथा प्रतिनिधि सभा सांसद सुनिल शर्माले बताए। तर त्यसका लागि शिविरमा जाँच गरेको पर्चा बोकेरै काठमाडौं मेडिकल कलेज जानुपर्नेछ।
‘मुटुदेखि मस्तिष्कसम्बन्धी कुनै पनि अपरेसन गर्नु परे यहाँ चेकजाँच गरेको पर्चा लगेर काठमाडौं पुगे हामी निःशुल्क उपचार गरिदिने छौं,’ शर्माले भने, ‘तर बिरामीले आउने जाने भाडाका साथै बस्ने खर्च र औषधि खर्च आफैंले बेहोर्नुपर्छ।’
शर्माले अस्पताल जान नसक्ने ग्रामीण भेगका नागरिकलाई सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताए।
उनका अनुसार शिविरमा रगत, दिसा- पिसाब चेकजाँच गर्नुका साथै सामान्य रोगहरूको स्क्रिनिङ भइरहेको छ। त्यसैगरी भिडिओ एक्स-रे का साथै मुटु सम्बन्धी इकोकार्डियोग्राफी सेवा पनि प्रदान गरिएको छ।
शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका सर्वसाधारणले आफ्नो गाउँमा निःशुल्क चेकजाँचसहित औषधि सेवा पाउँदा खुसी भएको बताए।(रास्स)