(एबिसि संचार )
क्रोएसिया, रोमानिया जापान जस्ता आकर्षक देशमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । फरकफकर स्थानमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका ४० वर्षीय मिङमार लामाले क्रोएसिया पठाइदिन्छु भन्दै एक व्यक्तिलाई ठगी गरेका थिए । उनले क्रोएसिया स्थित प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ३ लाख रुपैयाँ ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।यस्तै काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीले १ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।जगतले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।यसैगरी काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक १ लाख ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी २ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।(रास्स)