(एबिसि संचार ) कुटाकुटकाे स्थिति भएपछि नेकपा एमाले धादिङको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । यही १९ गते साँझ जिल्ला कमिटीको अन्तिम बैठकको बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिको विषयमा विवाद बढ्दा कुटाकुट भएको थियो । यसै क्रममा पार्टी कार्यकर्ता सन्तोष खनालले हात भाँचिएको छ । विवाद बढ्दै गएपछि अधिवेशन स्थगित गरिएको हो ।नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले आइतबार विज्ञप्ति जारी गरी धादिङ अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित भएको विज्ञप्तिमा उल्लेख छ ।बैठकमा सहभागीहरुको असहमतिका बाबजुद जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति सिर्जना भएको’ एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।(रास्स)